सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा ४ फरदवा निवासी तीनजना अनाथ नाबालककालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले सो रकम हस्तान्तरण गरेका छन् ।
नेपाल तरुण दल पटेर्वासुगौलीले तीनजना अनाथ बालबालिकाका लागि आर्थिक सहयोग जुटाउन अपिल गरेको थियो । विभिन्न सामाजिक सञ्जालहरुको माध्यमबाट प्राप्त एक लाख ३२ हजार २५ रुपैया अध्यक्ष चौधरीले उनीहरुलाई हस्तान्तरण गरेका हुन् ।
तीन महिनाभित्रै बुबा जितेन्द्र पञ्जियार र आमा गौरी देवीले ज्यान गुमाए । बैदेशिक रोजगारीका क्रममा जितेन्द्रको तीन महिना अघिनै मलेसियामा निधन भइसकेको थियो । त्यस्तै आमा गौरीले समेत क्यान्सर रोगका कारण फागुन ७ गते ज्यान गुमाइन् ।
उनीहरुका तीनजना सन्तान महिमा कुमारी पञ्जियार, करिमा कुमारी पञ्जियार र बिकास पन्जियारको अहिले बिचल्ली भएको छ । १७ वर्षीय महिमा कक्षा १२, १५ वर्षकी करिमा कक्षा ९ र १२ वर्षीय विकास कक्षा ७ मा अध्ययनरत छन् ।
अभिभावक गुमाएका उनीहरुको भरणपोषणका लागि विभिन्न सञ्चार माध्यम तथा सामाजिम सस्ंथाहरुमार्फत आर्थिक सहयोग जुटाउन अपिल गरियो । विभिन्न माध्यमहरुमा अपिल गर्दा एक लाख ३२ हजार २५ रुपैया संकलन भएको नेपाल दरुण दल पटेर्वासुगौलीका अध्यक्ष मुकेश गौरो बताउँछन् ।
सम्पत्तीको नाममा उनीसँग एउटा कच्चि घर रहेको स्थानीयले बताए । बावुको नाममा २÷३ कट्ठा जग्गा भएपनि भलुवाही नदीको कटानमा परी बालुवाले पुरिएको विकासले जनाए ।
गाउँपालिका अध्यक्ष चौधरीले उक्त रकम तीनजना बालबालिकाहरुको बैंक खातामा जम्मा गर्न लागिएको बताए ।