चितवन । चितवनको रत्ननगर नगरपालिका (रनपा) वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा यही फागुन १२ गते कक्षा ८ मा अध्ययनरत एक छात्रा शालिन पोखरेल मृत अवस्थामा भेटिइन् । घटना भएको एक साता बित्दा पनि उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने विवरण आधिकारिक रुपमा सार्वजनिक भएको छैन ।
सो घटना भएको थाहा पाउनेवित्तिकै इलाका प्रहरी कार्यालय टाँडीको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले होस्टेल भित्रको कोठामा स्काउटको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फागुन १२ गते शनिबार बिहान १०.३० बजे शालिनलाई मृत फेला पारेको थियो । शनिवारको दिन भएकाले विद्यालयको नियमित पठनपाठन थिएन ।
विगत दुई वर्षदेखि विद्यालयको होस्टलमा बस्दै आएकी शालिनले आत्महत्या गरेकी हुन् वा हत्या गरिएको हो भन्ने विषयको अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ । रनपा–१५ माधवपुरमा रहेका मावलीले शालिनलाई विद्यालयको होस्टेलमा राखिदिएका थिए । उनका बुवा दीपेन्द्र पोखरेल र आमा सगुन पोखरलले बीच सम्वन्ध बिच्छेद भैसकेपछि शालिन मामा घरकी हजुरआमाको संरक्षणमा थिइन् ।