काठमाडौं। प्रहरीले बेसारको प्याकेटजस्तो बनाएर सुन ओसार्ने दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । यात्रु प्रस्थान गर्ने भवनको शौचालयबाट प्रहरीले बेसारको पोकाजस्तो देखिनेगरी ल्याइएको सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
दुबईबाट काठमाडौं ओर्लिएका कासिब मोहम्मद र नयाँ दिल्ली हुँदै काठमाडौं आएका मुस्राफिन मोहम्मदलाई विमानस्थलमा खटेको महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट चारवटा बेसारको प्याकेटजस्तो देखिने वस्तु बरामद भएको महाशाखाले जनाएको छ । हेर्दा बेसारको प्याकेट देखिने सो वस्तु जाँच गर्दा सुन भएको पुष्टि भएको छ ।
उनीहरूले चारवटा प्याकेटमा १ किलो सुन गालेको हालेर ल्याएको प्रहरीले बताएको छ । दुबईबाट आएका कासिबले दिल्लीबाट आएका मुस्राफिनलाई शौचालयमा गएर सुन दिएका थिए । मुस्राफिन सुन लिनका लागि दिल्लीबाट बिहीबार नै काठमाडौं आएको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका कासिबले आफूले अन्डरवेयरभित्र धुलो सुन लुकाएर ल्याएको प्रहरीसमक्ष बयानमा भनेका छन् । यसअघि स्याम्पुको बोत्तल, मलद्वारमा हालेर, फल्स बटम बनाएर सुन तस्करी हुँदै आएको थियो । यसअघि आधा किलो सुनसहित प्रहरीले गत सोमबार एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।