तनहुँ | आइतबार साँझदेखि शुक्लागण्डकी नगरपालिका ३ रातमाटाका हराएका एक बालक वीभत्स अवस्थामा मृत भेटिएका छन्। दुई वर्षीय बालक रविन नेपालीको शरीर क्षतविक्षत र टाउको छुट्टिएको अवस्थामा फेला परेको छ।
बालकलाई खोज्ने क्रममा घरदेखि करिब २ किलोमिटर माथि ढाङढुङ्ग ठुलोपाखा श्यामपोखरी सामुदायिक वनमा वीभत्स अवस्थामा फेला पारिएको स्थानीयले जनाएका छन्।
शवको प्रकृति हेर्दा बाघले खाएको हुन सक्ने अनुमान गर्न सकिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।
उनका अनुसार बालकको शरीरका विभिन्न भाग छुटिएको र छाती, पिठ्युलगायत मासु रहेको भाग बाघले खाएको तथा नाडी, पेट, पिडौला, खुट्टा बाँकी रहेको अवस्थामा वनमा भेटिएको हो।
बालकलाई घरमा खेल्दै गरेको अवस्थामा बाघले आक्रमण गरेको हुन सक्ने उदेनढुङ्गा टोल विकास समितिका अध्यक्ष गोकर्ण पुवरले बताए।
उनका अनुसार बालकको टाउको, पेट, घुँडादेखि तलको भाग मात्र बाँकी रहेको अवस्थामा बालकको शव फेला भेटिएको परिवारको भनाई छ। स्थानीयवासी र इलाका प्रहरी कार्यालय बेलचौतराका टोलीले सोमबार बिहानैदेखि खोजी थालेका थिए।
बालकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आइतबार साँझ करिब ६ बजेको समयमा पिँढीमा बसेर खाना खाइरहेका बालक घरबाटै हराएको आमा लक्ष्मी नेपालीले बताइन् ।
आमा लक्ष्मीका अनुसार घरभित्र खाना बनाएर बाहिर निस्किँदा खाना खाइरहेको छोरा हराएका थिए। यस अघि तनहुँकै भानु नगरपालिकाका छ जना बालबालिका चितुवाको आक्रमणबाट ज्यान गुमाएका थिए भने चारजना घाइते भएका छन् । thahakhabar