जम्मू-कश्मीरको अवस्था सामान्य बन्दै, १४५ दिनपछि मोबाइल इन्टरनेट सुचारु
वीरगंज संजाल
१२ पुष २०७६, शनिबार १२:३१
३७१७
एजेन्सी, । झण्डै ५ महिना अर्थात् १४५ दिनपछि जम्मू-कश्मीरमा मोबाइल इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको छ ।जम्मू-कश्मीरमा इन्टरनेट सेवामाथि प्रतिबन्ध लगाएको १४५ दिनपछि शुक्रबार मोबाइल इन्टरनेट सुचारु गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
शुक्रबार बिहानदेखि लद्दाखमा मोबाइल इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको समाचारमा बताइएको छ । तर कश्मीर उपत्यकामा भने सेवा सुचारु गरिएको छैन । कार्गिलमा यसअघि नै ब्रोडब्याण्ड सेवाले काम गर्न थालेको छ ।
जम्मू-कश्मीरको अवस्था सामान्य बन्दै गएपछि मोबाइल इन्टरनेटमाथि लगाइएको प्रतिबन्ध खुकुलो पारिएको भारतीय अधिकारीहरुले बताएका छन् ।
यता मोबाइल इन्टरनेट सेवालाई दुरुपयोग नगर्न जम्मू-कश्मीरका धार्मिक नेताहरुले आग्रह गरेका छन् ।
गत साता मात्रै भारत सरकारले अगस्टदेखि जम्मू-कश्मीरका विभिन्न स्थानमा तैनाथ गरिएका सुरक्षाकर्मीमध्ये ७ हजारभन्दा बढीलाई फिर्ता बोलाएको थियो ।
सरकारले जम्मू-कश्मीरको सुरक्षा अवस्थामा सुधार आएको भन्दै ७ हजारभन्दा बढी सुरक्षाकर्मी फिर्ता बोलाएको हो । फिर्ता भएका सुरक्षाकर्मी आ-आफ्नो शिविरमा फर्किसकेका छन् ।
सरकारले सोमबार जम्मू-कश्मीरमा तैनाथ गरिएका विभिन्न सुरक्षाबलमा ७२ वटा कम्पनी फिर्ता बोलाएको भारतीय समाचार माध्यमले जनाएका छन् । फिर्ता बोलाइएका हरेक कम्पनीमा १०० जना सुरक्षाकर्मी रहेको समेत बताइएको छ ।
केन्द्र सरकारले कश्मीरको सुरक्षा अवस्था सुधार हुँदै गएको भन्दै तैनाथ गरिएकामध्ये उक्त संख्याका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो ।
फिर्ता बोलाइएका कम्पनीमा सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ), बोर्डर सेक्युरिटी फोर्स (बिएसएफ), इन्डो-टिबेटेन बोर्डर पुलिस (आईटिबिपी), सेन्ट्रल इन्डष्ट्रिअल सेक्युरिटी फोर्स (सिआईएसएफ), सशस्त्र सेना बल (एसएसबी) का कम्पनी रहेका छन् ।
भाजपा सरकारले जम्मू-कश्मीरले प्राप्त गर्दै आएको विशेष प्रदेशको हैसियत खारेज गरी हाल उक्त प्रदेशलाई केन्द्र प्रशासित २ राज्यमा विभाजन गरेको छ।
जम्मू-कश्मीरको विशेष हैसियत खारेज गरेसँगै उक्त क्षेत्रमा भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारको कदमपछि ४३ हजार सुरक्षाकर्मी उक्त क्षेत्रमा तैनाथ गरिएको थियो ।