बजारमा मलखादको अभाव हुँदा किसानहरू धानबालीका लागि अहिले चिन्तित भएका छन् । सहकारी संस्थाहरूले बजारमा मलको कृत्रिम अभाव पैदा गरी असल मूल्यभन्दा डेढ गुणा बढीमा बिक्री गर्ने गरेको पाइएको छ भने सम्बन्धित निकाय मौन बसेको छ ।
किसानको हितमा ठोस कानून वा नहुँदा बिचौलिया बनेका कृषि सहकारीहरूले मनोमानी मल बिक्री गर्ने गरेको तथा बजारमा खुलेयाम बढी भाउमा मल बिक्री हुने गरेको पाइएको छ । मलखादविना कुनै पनि बालीको पर्याप्त उत्पादन नहुने हुँदा महँगो मूल्यमा मल खरीद गर्न बाध्य रहेको बिन्दवासिनी गाउँपालिका गर्दौल टोलका किसान किशोरी पटेलले बताए ।
रु ७ सय प्रतिबोरा पर्ने युरियाको रु ११ सय तथा रु २१५० प्रतिबोरा डिएपी रु २६ सयसम्म खरीद गर्ने गरेको किसानको भनाइ छ । त्यसमा पनि अहिले डिएपी मल नपाएको अवस्थामा भारतबाट ल्याउनुपरेको उनले दुःखेसो प्रकट गरे । त्यस्तै धान बालीमा मलखाद हाल्ने बेलामा नेपाली बजारमा मल महँगो पाइने र भारतीय बजारको मल गुणस्तरहीन अथवा उर्वराशक्तिहीन हुने दोहोरो मारमा नेपाली किसानले खेती धान्नुपरेको छ । भारतीय मल हाल्नु भनेको धानबालीमा माटो हालेको अनुभव हुने किसान तिलक पडित बताउँछन् ।
धानको राम्रो उब्जनी भएन भने साहु महाजनको हुन्डा कसरी भर्ने भन्ने चिन्ताले पिरोलिएको उनले दुःखेसो पोख्दै, कठ्ठाको तीन मन धान दिनुपर्ने सम्झौता भएको जानकारी दिए । हामी किसानलाई मल नपाउँदा तरकारी खेतीमा समेत असर परेको छ । महँगो भाउमा हाइब्रिड तरकारी खेती ग¥यो, मल नहाल्दा उब्जनी फस्टाउँदैन । युरिया, डिएपी र पोटास बजारमा पाइरहेको छैन । लाचार भएर भारतीय मल प्रयोग गर्ने गरेको अर्का किसान श्रीनारायण गिरी बताउँछन् । एक क्विटन्ल धान बेचेर २५ सयमा एक बोरा डिएपी खरीद गरेको उनले बताए ।
सोझासाझा किसानलाई सरकारले बढी मारमा पार्ने काम गर्दै आएको किसानहरूले बताएका छन् । धान, गहुँ र तरकारी बालीका लागि पैकेज कार्यक्रम अन्तर्गत पनि मल आपूर्ति हुन नसक्दा भारतीय बजारबाट मल खरिद गर्ने गरेको उनीहरूले बताएका छन् । सरकारले किसानका लागि ठोस योजना नल्याएको कारण चारैतिरबाट किसान नै मारमा पर्ने गरेका छन् । धानबालीको लागि डिएपी, युरिया र पोटास अनिवार्य चाहिन्छ–कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डाक्टर रामचन्द्र यादवले बताए । धानबालीको लागि मात्र पर्सा जिल्लामा १०३८ मेट्रिक टन कृषि साम्रगी कम्पनी तथा १७ हजार मेट्रिक टन साल्ट टे«डिङ कम्पनीले सम्झौता गरेका छन् । मुलुकमैं मलको उपलब्धता कम देखिन्छ ।
खास गरेर डिएपी, युरिया र पोटासले अहिले धानको टिलर (जरा) बढाउने काम गर्छ, जसमा धानको बाला लाग्छ । मलको कमीले धानको बाला कम हुन्छ वा सानो आकारको हुन्छ, उनले बताए । यस वर्ष मलको कारण धान उत्पादनमा धेरै नै कमी हुने तथा धान रोपेको पहिलो गोडमेलपछि २५ दिनमा मल छर्नु अनिवार्य हुन्छ, उनले बताए । रसायनिक मलको आपूर्ति भने प्रदेश र सङ्घीय सरकारको प्रमुख जिम्मेवारी भए तापनि किसानहरूको हकहितमा हालसम्म कसैले जिम्मेवारीबोध नगरेको उनले बताए ।praticdaily