

वीरगन्ज । नीरज पिठाकोटे । पर्सा राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा वन्यजन्तुले मानव बस्तीमा पुर्याएको क्षतिबापत २६ लाख ५८ हजार ४६८ रुपैयाँ राहत वितरण गरेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज मण्डलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वन्यजन्तुबाट भएको मानवीय, पशुधन, अन्नबाली तथा घरगोठलगायतको क्षतिबापत उक्त रकम वितरण गरिएको हो ।
निकुञ्जको तथ्यांकअनुसार सबैभन्दा बढी राहत अन्नबाली क्षतिबापत वितरण गरिएको छ । अन्नबाली क्षतिका १८७ घटनामा १६ लाख ८२ हजार रुपैयाँ राहत दिइएको छ । अन्नबालीमा सबैभन्दा बढी जंगली हात्तीले क्षति पुर्याएको छ । हात्तीबाट भएको क्षतिबापत मात्रै ९ लाख १६ हजार ४३८ रुपैयाँ राहत वितरण गरिएको छ ।



त्यसैगरी, पशुधन क्षतिका ६० घटनामा ६ लाख ५७ हजार पाँच सय रुपैयाँ राहत वितरण गरिएको छ । जंगली बँदेलबाट भएका ७८ घटनामा ५ लाख ९१ हजार रुपैयाँ राहत दिइएको छ भने चितुवाबाट भएका ५० घटनामा ५ लाख ३४ हजार ५०० रुपैयाँ वितरण गरिएको छ । वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका, २०८० अनुसार कार्यालयमा प्राप्त निवेदनका आधारमा राहत वितरण गर्ने गरिएको मण्डलले बताए ।
गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट सख्त घाइते भएका दुई जनालाई २ लाख ५९ हजार ९६८ रुपैयाँ र सामान्य घाइते एक जनालाई २० हजार रुपैयाँ राहत दिइएको छ । त्यस्तै, अन्न भण्डारमा क्षति पुर्याएका दुई घटनामा १९ हजार र घरगोठ क्षतिका दुई घटनामा २० हजार रुपैयाँ वितरण गरिएको छ । कुखुरामा अजिंगरले पुर्याएको क्षतिबापत ६ हजार रुपैयाँ राहत दिइएको छ ।
त्यस्तै, बाघबाट भएका १० घटनामा १ लाख २३ हजार, गैंडाबाट भएका दुई घटनामा १० हजार, भालुबाट भएको एक घटनामा ६५ हजार ५३०, नीलगाईबाट भएका २६ घटनामा २ लाख ३२ हजार र बाँदरबाट भएका १८ घटनामा १ लाख ७० हजार रुपैयाँ राहत वितरण गरिएको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।
निकुञ्जले चालु आर्थिक वर्षको कात्तिकसम्म चार महिनामा ६ लाख ४ हजार रुपैयाँ राहत वितरण गरिसकेको छ । यसमध्ये अन्नबाली क्षतिबापत ४ लाख २८ हजार, पशुधन क्षतिबापत १ लाख १७ हजार र घरगोठ क्षतिबापत ५९ हजार रुपैयाँ वितरण गरिएको सहायक संरक्षण अधिकृत मण्डलले बताए ।


