

काठमाडौं | इरानले भारत, चीन, इराक र कतारका जहाजलाई होर्मुज जलमार्गमा लगाइएको पारवहन प्रतिबन्धबाट छुट दिएको छ। यी देशका जहाजले अब कुनै अवरोधबिना जलमार्ग पार गर्न सक्नेछन्।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका उपाध्यक्ष अहमद हयात मोघाद्मले मंगलबार आर्थिक तथा सुरक्षा अवस्थाको समीक्षासम्बन्धी बैठकमा यस्तो घोषणा गरेका हुन्। उनका अनुसार, यी चार देशका जहाजलाई विशेष व्यवस्था र आपसी समझदारीका आधारमा छुट दिइएको हो। उनले अमेरिकी पक्षले पनि ती जहाजको आवागमनमा हस्तक्षेप नगर्ने दाबी गरे।



कतारका जहाजमाथि इरानले कुनै पारवहन शुल्क नलगाउने स्पष्ट पार्दै उनले प्रत्येक देशलाई छुट दिनुको छुट्टाछुट्टै कारण रहेको बताए। ‘हामी व्यापार गरिरहेका छौँ र प्रत्येक छुटका पछाडि फरक कारण छन्,’ उनले भने। हयात मोघाद्मका अनुसार भारतलाई दिइएको छुट इरानमा औषधि आयात सहज बनाउन केन्द्रित छ। चीनलाई दिइएको छुटको उद्देश्य इरानप्रति चीनको राजनीतिक समर्थन सुनिश्चित गर्नु हो।


