कपिलवस्तु प्रहरीले लागुऔषध र चोरीको मालसामानसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। शुक्रबार कपिलवस्तुको बाणगंगा नगरपालिका-२ गोबडिहवाको एक घरबाट पक्राउ परेका ६ जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा नवलपरासीको देवचुली नगरपालिका-२ का २३ वर्षीय मुक्तिप्रसाद खनाल, बुद्धभूमि नगरपालिका-२ का २६ वर्षीय विवेक थापा, रूपन्देहीको सैनामैना नगरपालिका-९ का १८ वर्षीय मनोज दर्जी छन्।
त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका-१२ का १८ वर्षीय समिर परियार, कपिलवस्तु वाणगंगा नगरपालिका-२ का २८ वर्षीय विनोद परियार र कपिलवस्तु बाणगंगा नगरपालिका-२ का ३३ वर्षीय बिष्णु श्रेष्ठ पक्राउ परेका हुन्।
कपिलवस्तुका एसपी प्रेम वस्नेतका अनुसार ती ६ जना मुक्ति प्रसाद खनालको डेरामा बस्दै आएका थिए। उनीहरूको साथबाट ७१० ग्राम मिलिग्राम ब्राउन सुगर, पैसा, गरगहना र चोरीका विभिन्न मालसामान बरामद भएको छ। एसपी बस्नेतका अनुसार उनीहरू बसेको डेराबाट नगद तथा सिक्का गरी ३ लाख ४९ हजार २५५ रूपैयाँ, वारेन्टीवाला सुनका गरगहना पहेँलो तिलहरी २ थान, बाला ३ थान, सिरफुल १ थान, चन्द्रमा १ थान, चुराका टुक्राहरू, झुम्का २ थान, पिन्जडा २ थान, ब्रासलेटका टुक्रा ३ थान, दानावाला झुम्का दुई थान बरामद भएको छ। त्यस्तै सुनका गरगहनाहरू सिक्री १ थान, माइली तिलहरी १ थान, घन्टी माला १ थान, औंठी एक थान, चाँदीका गरगहनाहरू फोल्डिङ बाला १ थान र एक जोडी पाउजु बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए।
एउटामा ५ सिक्का र अर्कोमा ३ सिक्का भएको तक्मा मेडल दुईटा, तीनवटा लेडिज पर्स, दुईवटा लाईट, एउटा व्याट्री,एउटा जेन्स पर्स, क्याननको डिजिटल क्यामेरा एक थान, एउटा बटनवाला चक्कु, स्टिलको लिभर ( रड) रेडियो थान-१, दाब सहितको धारिलो हतियार खोडा बरामद गरिएको छ।
लु ३६ प १९३९ नं.को रातो कालो रङको पल्सर मोटरसाईकल र लु ३९ प ८२८२ नं.रातो कालो रङको को होण्डा साईन मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी बस्नेतले जानकारी दिए।