

वीरगंज | अमेरिकाले होर्मुज जलडमरूमध्यमा अवस्थित इरानको केशम टापुमा आक्रमण गरेको छ। अमेरिकी समाचार संस्था फक्स न्युज र द वाल स्ट्रिट जर्नलको रिपोर्टमा उक्त टापुलाई निशाना बनाइएको उल्लेख गरिएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथिको आक्रमण थप तीव्र बनाउने विषयमा आफूलाई कुनै हतार नभएको बताएका थिए।



समाचार संस्था एक्सियोससँगको कुराकानीमा ट्रम्पले भने, ‘हामी कुनै न कुनै रूपमा कारबाही गर्नेछौँ, तर यसमा कुनै हतार छैन। हामीले उनीहरूलाई आर्थिक रूपमा पूर्ण रूपमा कमजोर बनाइसकेका छौँ।’ उनले इरानी जनता पनि वर्तमान परिस्थितिबाट दिक्क भइसकेको दाबी गरे।
त्यस्तै, सोमबार वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा ट्रम्पलाई अमेरिकाको मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्नेबारे सोधिएको प्रश्नको जवाफमा उनले स्पष्ट रूपमा ‘हुँदैन’भनेका थिए।
एक्सियोसका पत्रकार बराक राविदका अनुसार एक अमेरिकी अधिकारीले उनलाई सोमबार राति इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले केशम टापुबाट होर्मुज जलडमरूमध्यमा रहेको अमेरिकी विमानलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका थिए।
ती अधिकारीका अनुसार उक्त आक्रमणको जवाफमा अमेरिकी लडाकु विमानले आत्मरक्षाका लागि इरानको जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीको प्रक्षेपण यन्त्र (लन्चर) नष्ट गरेको थियो।


