

वीरगञ्ज । वीरगञ्जस्थित आसाराम अस्पताल प्रा.लि.मा पारिश्रमिक भुक्तानीको विषयलाई लिएर विवाद सार्वजनिक भएको छ। अस्पतालमा चिकित्सकका रूपमा काम गरेबापत पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै डा. अस्मिता उपाध्याय द्विवेदीले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएकी छन्।
डा. द्विवेदीले आफूले अस्पतालमा सेवा प्रदान गरेबापत ८७ हजार ३४१ रुपैयाँ पारिश्रमिक बाँकी रहेको दाबी गर्दै उक्त रकम उपलब्ध गराउन प्रशासनसमक्ष माग गरेकी हुन्।



जिल्ला प्रशासन कार्यालय पर्सामा पेस गरिएको निवेदनमा उनले नेपालको संविधान, २०७२ को धारा ३४ तथा श्रम ऐन, २०७४ का दफा ३४ र ३५ लगायतका कानुनी व्यवस्थालाई उल्लेख गर्दै श्रम गरेबापत पारिश्रमिक पाउनु आफ्नो अधिकार भएको जिकिर गरेकी छन्।
निवेदनअनुसार, बाँकी पारिश्रमिक उपलब्ध गराउन पटक–पटक अस्पतालसँग सम्पर्क गर्दा पनि रकम नपाएको उनको आरोप छ। अस्पताल सञ्चालकले भुक्तानीमा आलटाल गरेको र आफूलाई अपशब्द प्रयोग गरी दुर्व्यवहारसमेत गरेको आरोप लगाउँदै उनले प्रशासनसँग आवश्यक छानबिन, कानुनी कारबाही र बाँकी रकम दिलाइदिन माग गरेकी छन्। साथै, शान्ति सुरक्षाको व्यवस्था मिलाउन पनि उनले आग्रह गरेकी छन्
