

वीरगंज | वीरगंजमा अव्यवस्थित थोक बजार हटाउने महानगरको तयारी, व्यवसायीलाई २१ दिनको समय
वीरगंज महानगरपालिकाले छरिएर सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजारलाई व्यवस्थित गर्न व्यवसायीलाई २१ दिनभित्र छपकैयास्थित निर्धारित बजारमा स्थानान्तरण हुन निर्देशन दिएको छ।



महानगरपालिकाले वडा नम्बर २ छपकैयामा निर्माण गरेको थोक बजारमा सबै व्यवसायीलाई अनिवार्य रूपमा कारोबार सञ्चालन गर्न आग्रह गरेको हो। सार्वजनिक सडक तथा अन्य स्थानमा जथाभावी थोक बजार सञ्चालन हुँदा यातायात आवागमन, बजार व्यवस्थापन र सर्वसाधारणको आवतजावतमा समस्या देखिएकाले यस्तो कदम चालिएको महानगरपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा आगामी कात्तिक २ गतेभित्र निर्धारित बजारमा स्थानान्तरण भइसक्नुपर्ने उल्लेख छ। महानगरपालिकाले तोकिएको स्थानबाहेक अन्यत्र थोक बजार सञ्चालन गर्नसमेत रोक लगाएको छ।
निर्धारित समयभित्र बजार स्थानान्तरण नगर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी महानगरपालिकाले दिएको छ। समयसीमाभित्र बजार नसारे त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यवसायीले नै लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
महानगरपालिकाले वीरगंजलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले सार्वजनिक स्थानको अतिक्रमण नियन्त्रण, सडकमा हुने अवरोध हटाउने तथा बजारलाई एकीकृत रूपमा सञ्चालन गर्ने नीति अघि सारेको जनाएको छ।
