

वीरगंज | नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको छ। त्रिवी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको थियो।
काठमाडौंले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाउँदै ११६ रनको लक्ष्य पूरा गरेको हो।



जनकपुरका लागि ओपनर मोइन अलीले सर्वाधिक ५८ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ५१ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे।
उनले तेस्रो विकेटको लागि सैफ हसनसँग ७९ रनको अविजित साझेदारी बनाउँदै खेललाई जित तर्फ डोर्याएका हुन्। हसनले ४० रनको अविजित पारी खेले। हसनले ३९ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
काठमाडौंको लागि एक मात्र विकेट बंगलादेशका बलर रिपोन मन्डोलले लिए।
त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको काठमाडौं गोर्खाजको लागि भिम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। काठमाडौं गोर्खाजले पहिलो विकेटको रुपमा साम ह्याजलेटलाई गुमायो। उनलाई जनकपुरका युवा बलर राहुल यादवले पहिलो बलमा नै मोइन अलिको हातमा क्याच गराए।
त्यस्तै दोस्रो विकेट हरिशंकर शाह ९ रनमा सैफ हसनको बलमा क्याच भए। तेस्रो विकेटका रुपमा स्मिथ पटेल १३ बलमा २ चौकासहति १३ रन बनाएर राहुलको बलमा कप्तान हर्मित सिंहको हातमा क्याच भए। रासिद खानले १७ रन बनाउँदा सुमित महर्जनले १० रन बनाए।
कप्तान करण केसी ८ रनमा क्याच भए। मोहम्मद आदिल आलम राहुलको बलमा पहिलो बलमा एलबीडब्ल्यू धरापमा परे। अन्तिम विकेटको रुपमा रिपोन मन्डोल ९रनमा क्याच भए। साहब आलम ४ रनमा अविजित रहेका थिए।
जनकपुर बोल्ट्सका लागि बलिङमा युवा बलर राहुल यादवले सर्वाधिक ४ विकेट लिए। सैफ हसनले २ विकेट लिँदा मोइन अलि, ललित राजवंशी र कप्तान हर्मित सिंहले १–१ विकेट लिएका हुन्।
पहिलो खेलमा हार बेहोरेको जनकपुरले पहिलो खेलको गल्ती सच्याउँदै पुनरागन जित दर्ता गरेको हो। जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो।
