

वीरगंज | अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्डको सजाय पाएकी क्रिस्टा पाइकलाई दुई पटक प्राणघातक इन्जेक्सन दिइए पनि उनको मुटु धड्किइरह्यो।
प्राणघातक इन्जेक्सनको प्रक्रियामा गडबडी भएपछि पाइकका वकिलहरूले उनको सजाय रोक्न र उनलाई उपचार उपलब्ध गराउन तत्काल याचिका दायर गरे।



याचिकामा भनिएको छ, ‘पाइक बेहोस भएकी छन् र उनको मुटु अझै पनि धड्किइरहेको छ। सास फेर्ने क्रममा घुरेको जस्तो आवाज आइरहेको छ।’
उनका एक वकिलले बीबीसीलाई बताए अनुसार, ‘५० वर्षीया पाइकलाई पेन्टोबार्बिटलको दुई सिरिन्ज दिइएको थियो। अहिले उनको अस्पतालमा उपचार भइरहेको छ।’
क्रिस्टा पाइकलाई सन् १९९६ मा १९ वर्षीया कोलिन स्लेमरको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो। हत्याको समयमा पाइकको उमेर १८ वर्ष थियो।
अभियोजन पक्षका अनुसार, पाइक र उनका तत्कालीन प्रेमी टेडारिल शिपले स्लेमरलाई कुटपिट गरे, यातना दिए र हत्या गरिदिएका थिए।
तीनै जनाको भेट समस्याग्रस्त किशोरकिशोरीहरूका लागि आयोजना गरिएको एक जब ट्रेनिङ (रोजगार तालिम) क्याम्पमा भएको थियो।
स्लेमरकी आमा मार्टिनेजले आफू सजाय कार्यान्वयन होस् भन्ने चाहन्थिन् भनिन्। उनले एसोसिएटेड प्रेससँग भनिन्, “जब-जब म यसका बारेमा सोच्छु, मलाई कोलिनले भोगेको त्यो पीडाको याद आउँछ र उनी उठेर भाग्ने प्रयास गरिरहेका थिए जस्तो लाग्छ।”


