

वीरगंज | पर्साको धोबीनी गाउँपालिका वडा-४ लंगडीमा करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएको नमुना अस्पताल स्थानीयका लागि स्वास्थ्य सेवाको आशा बने पनि अस्पतालसम्म पुग्ने भरपर्दो सडक नहुँदा यसको वास्तविक उपयोगितामाथि नै प्रश्न उठ्न थालेको छ।
वर्षायाम सुरु भएपछि लंगडीको सडक हिलाम्मे र जीर्ण बन्दा अस्पतालसम्म बिरामी लैजानसमेत स्थानीयलाई कठिनाइ हुने गरेको छ। विशेषगरी गर्भवती महिला, वृद्धवृद्धा तथा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीले समयमा स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था रहेको स्थानीयको गुनासो छ।



अस्पताल गाउँमै भए पनि सडकको दुरवस्थाका कारण कतिपय बिरामीलाई पोखरिया अस्पताल वा वीरगञ्जतर्फ लैजानुपर्ने बाध्यता छ। वर्षाको समयमा एम्बुलेन्ससमेत सहज रूपमा आवतजावत गर्न नसक्ने अवस्था आएपछि करोडौंको लगानीमा बनेको अस्पतालको उद्देश्य नै अधुरो भएको स्थानीय बताउँछन्।
स्थानीयको प्रश्न छ—अस्पताल बनाउन करोडौं रुपैयाँ खर्च गर्न सक्ने स्थानीय सरकारलाई अस्पतालसम्म पुग्ने सडक बनाउन किन कठिन भइरहेको छ?
स्थानीय तहले विभिन्न तालिम, गोष्ठी, कार्यक्रम तथा सामग्री खरिदमा ठूलो रकम खर्च गर्दै आए पनि जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत पूर्वाधारमा अपेक्षित ध्यान नदिएको भन्दै आलोचना भइरहेको छ। स्वास्थ्य संस्था निर्माण गरेर मात्र स्वास्थ्य सेवा प्रभावकारी नहुने भन्दै स्थानीयले अस्पतालसम्म पुग्ने सडकलाई पहिलो प्राथमिकतामा राख्न माग गरेका छन्।
स्थानीयका अनुसार जनप्रतिनिधिहरूले बजेटको प्राथमिकता निर्धारण गर्दा जनताको वास्तविक आवश्यकता पहिचान गर्न आवश्यक छ। तालिम र औपचारिक कार्यक्रमभन्दा बिरामीलाई अस्पतालसम्म पुर्याउने बाटो, खानेपानी, शिक्षा र आधारभूत पूर्वाधारमा लगानी गर्नु स्थानीय सरकारको प्राथमिक जिम्मेवारी हुनुपर्ने उनीहरूको भनाइ छ।
अस्पतालको भवन देखाएर विकासको दाबी गरिए पनि त्यहाँ पुग्ने बाटो नै जोखिमपूर्ण हुनु विकास व्यवस्थापनको गम्भीर कमजोरी भएको स्थानीयको आरोप छ। करोडौंको अस्पताल बनाएर त्यसको पहुँच मार्ग बेवास्ता गरिँदा राज्यको लगानीको प्रतिफलसमेत जनताले पूर्ण रूपमा पाउन नसकेको अवस्था देखिएको छ।
स्थानीयले अब भाषण र आश्वासनभन्दा अस्पतालसम्म पुग्ने सडकको तत्काल स्तरोन्नति, वर्षायाममा नियमित मर्मत तथा एम्बुलेन्स सहज रूपमा आवतजावत गर्न सक्ने सडक निर्माण गर्न धोबीनी गाउँपालिका र सम्बन्धित जनप्रतिनिधिसँग माग गरेका छन्।
जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गाउँपालिकाले आगामी बजेट तथा योजनामा अस्पतालको पहुँच मार्गलाई प्राथमिकतामा राख्छ कि विगतझैं अन्य कार्यक्रम र खरिदमै बजेट केन्द्रित गर्छ भन्ने प्रश्न अहिले स्थानीयस्तरमा उठ्न थालेको छ।


