
वीरगंज | ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार (साउन २९) बिहान करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द गरिने भएको छ । पाटन सबस्टेसनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, मर्मतसम्भार कार्यका निम्ति शुक्रबार बिहान ५ देखि ७ बजेसम्म पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति बन्द गरी ‘सटडाउन’ लिन लागिएको हो । पाटन सबस्टेसनबाट बिजुली आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा सटडाउनका कारण विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
“मर्मतसम्भार कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिनेछ,” प्राधिकरणले भनेको छ ।
