
वीरगंज | मोटोपन र क्यान्सरबीचको सम्बन्धबारे यसअघि गरिएका अनुमानभन्दा अत्यधिक तौलका कारण हुने क्यान्सरको जोखिम निकै ठूलो हुन सक्ने नयाँ अध्ययनले देखाएको छ । जर्मन क्यान्सर रिसर्च सेन्टर (डीकेएफजेट)का अनुसन्धानकर्ताहरूको अध्ययनले कुल क्यान्सरका केसहरूमध्ये ११.५ प्रतिशतसम्म अत्यधिक तौल वा मोटोपनासँग सम्बन्धित हुन सक्ने देखाएको हो ।
यसअघि भएका अध्ययनहरूले कुल क्यान्सरका करिब दुईदेखि आठ प्रतिशत केसमात्र शरीरको अत्यधिक तौलका कारण हुने अनुमान गरेका थिए । तर, नयाँ अध्ययनले मोटोपन र क्यान्सरबीचको सम्बन्धलाई विगतमा कम आँकिएको हुन सक्ने देखाएको हो ।
अध्ययनले विशेषगरी पेट वरिपरि जम्मा हुने बोसो क्यान्सरको जोखिम बढाउने प्रमुख कारक हुन सक्ने देखाएको छ । पेटको बोसोले शरीरमा दीर्घकालीन प्रदाह तथा मेटाबोलिक परिवर्तन गराउने भएकाले क्यान्सरको विकासमा भूमिका खेल्न सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ ।
जर्मन क्यान्सर रिसर्च सेन्टरका महामारीविद् हर्मन ब्रेनर नेतृत्वको टोलीले गरेको अध्ययनमा बेलायतको (यूके वायोबैंक)मा आबद्ध चार लाख ५८ हजार ५४३ महिला तथा पुरुषको स्वास्थ्यसम्बन्धी तथ्यांक विश्लेषण गरिएको थियो । सहभागीहरूलाई औसत १२ वर्षसम्म अनुगमन गरिएको थियो । सो अवधिमा करिब ५० हजार नयाँ क्यान्सरका केस पहिचान भएका थिए ।
अध्ययनले वीएमआई मात्रै पर्याप्त सूचक नभएको उल्लेख गरेको छ । मोटोपन मापन गर्न सामान्यतया बडी मास इन्डेक्सप्रयोग गरिन्छ । व्यक्तिको उचाइ र तौलका आधारमा वीएमआई निकालिन्छ । तर, वीएमआईले शरीरमा रहेको बोसो र मांसपेशीको मात्रा तथा बोसो कुन भागमा बढी जम्मा भएको छ भन्ने देखाउँदैन ।
नयाँ अध्ययनमा अनुसन्धानकर्ताहरूले वीएमआईका अतिरिक्त कम्मरको घेरा र कम्मर–नितम्ब अनुपातलाई समेत विश्लेषण गरेका थिए । यसले शरीरको बोसो विशेषगरी पेट वरिपरि कति जम्मा भएको छ भन्नेबारे थप जानकारी दिन्छ ।
रेजेन्सबर्ग विश्वविद्यालयका महामारीविद् माइकल लाइट्जम्यानका अनुसार सबै प्रकारको बोसो शरीरका लागि समान हुँदैन । पेट वरिपरि जम्मा हुने बोसो केवल अतिरिक्त ऊर्जा सञ्चय गर्ने निष्क्रिय भण्डार नभई शरीरमा दीर्घकालीन प्रदाहात्मक मेटाबोलिक अवस्था सिर्जना गर्ने सक्रिय तन्तुका रूपमा काम गर्न सक्छ ।
पेटको बोसोले ‘एडिपोकाइन्स’ नामका विभिन्न संकेत अणुहरू उत्पादन गर्छ । ती रक्तप्रवाहमार्फत शरीरका विभिन्न भागमा पुगेर कोषको वृद्धि तथा विभाजन र कोषको प्राकृतिक मृत्युजस्ता प्रक्रियालाई प्रभावित गर्न सक्छन् । यस्ता परिवर्तनले ट्युमरको विकास र वृद्धिका लागि अनुकूल वातावरण बनाउन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ ।
नयाँ अध्ययनको अर्को महत्वपूर्ण पक्ष, यसले अघिल्ला अनुसन्धानमा हुन सक्ने विधिगत त्रुटि (मेटालोजिकल बायस)लाई सम्बोधन गरेको छ ।
क्यान्सर शरीरमा विकसित हुँदै गर्दा कतिपय मानिसको तौल स्वाभाविक रूपमा घट्न सक्छ । यदि, क्यान्सरको सुरुआती चरणमा रहेका व्यक्तिहरूलाई अध्ययनमा समावेश गरियो भने उनीहरूको तौल पहिले नै घटिसकेको हुन सक्छ । यस्तो अवस्थामा मोटोपन र क्यान्सरबीचको वास्तविक सम्बन्ध कमजोर देखिन सक्छ ।
यही सम्भावित प्रभाव हटाउन (डीकेएफजेट)का अनुसन्धानकर्ताहरूले अध्ययनमा सहभागी भएको सुरुआती केही वर्षको तथ्यांकलाई विश्लेषणबाट हटाएका थिए । सहभागीहरू अध्ययनमा प्रवेश गरेको सात वर्षपछि देखिएका क्यान्सरका केसलाई मात्र मुख्य विश्लेषणमा समावेश गरिएको थियो ।
यसरी विश्लेषण गर्दा अत्यधिक तौल र क्यान्सरबीचको सम्बन्ध अझ स्पष्ट देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
महिलामा जोखिम अझ बढी हुन सक्ने
अध्ययनले अत्यधिक तौल भएका महिलामा मोटोपनसँग सम्बन्धित क्यान्सरको जोखिम पुरुषको तुलनामा बढी हुनसक्ने संकेत गरेको छ । यद्यपि, यो निष्कर्षलाई थप अध्ययनबाट पुष्टि गर्न आवश्यक रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
रेजेन्सबर्ग विश्वविद्यालयका महामारीविद् माइकल लाइट्जम्यानका अनुसार महिलामा देखिने केही प्रमुख क्यान्सर र शरीरको अत्यधिक बोसोबीच हर्मोनसम्बन्धी सम्बन्ध हुन सक्छ ।
विशेषगरी स्तन, पाठेघर र अण्डाशयको क्यान्सरमा हर्मोनको भूमिका महत्वपूर्ण हुन्छ । उदाहरणका लागि, एस्ट्रोजन हर्मोनले केही प्रकारका स्तन क्यान्सरको वृद्धि बढाउन सक्छ । शरीरमा अत्यधिक पेटको बोसो हुँदा एस्ट्रोजनको स्तरमा समेत प्रभाव पर्न सक्ने भएकाले महिलामा जोखिम बढ्न सक्ने उनको भनाइ छ ।
यद्यपि, अध्ययनले महिलामा जोखिम बढी हुने देखाए पनि यो निष्कर्षलाई अन्तिम मान्न नहुने र समान प्रकृतिका थप अनुसन्धान आवश्यक रहेको लाइट्जम्यानले बताएका छन् ।
मोटोपन र क्यान्सर : बढ्दो सार्वजनिक स्वास्थ्य चुनौती
मोटोपनलाई लामो समयदेखि मुटुरोग, उच्च रक्तचाप र टाइप–२ मधुमेहजस्ता गैरसर्ने रोगको प्रमुख जोखिम कारकका रूपमा लिइँदै आएको छ । तर, मोटोपना क्यान्सरसँग पनि जोडिएको विषय हो भन्नेबारे जनचेतना तुलनात्मक रूपमा कम रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।
अत्यधिक तौल घटाउँदा मुटुरोग, स्ट्रोक र टाइप–२ मधुमेहको जोखिम घटाउन सहयोग पुग्ने प्रमाणहरू छन् । त्यसैगरी, मोटोपन नियन्त्रण तथा रोकथामले क्यान्सरको जोखिम घटाउन पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने नयाँ अध्ययनले संकेत गरेको छ ।
लाइट्जम्यानका अनुसार मोटोपनासँग सम्बन्धित क्यान्सरको जोखिम पहिले अनुमान गरिएको भन्दा ठूलो देखिनु चिन्ताको विषय भए पनि यसमा रोकथामको ठूलो सम्भावना रहेको पक्षलाई सकारात्मक रूपमा लिन सकिन्छ ।
“मोटोपन रोकथाम गरेर हामीले पहिले अनुमान गरिएको भन्दा क्यान्सर रोकथाममा ठूलो योगदान पुर्याउन सक्छौँ,” लाइट्जम्यानले भनेका छन् । नयाँ अध्ययनले मोटोपनलाई केवल मुटुरोग वा मधुमेहको जोखिमसँग मात्र जोडेर हेर्न नहुने देखाएको छ ।
