वीरगंज । लगातारको वर्षापछि चन्द्रपुर–१ स्थित वाग्मती नदीमा आएको बाढीले मंगलबार नुनथर क्षेत्र डुबानमा पारेको छ । त्यस्तै जिल्लाका विभिन्न स्थानमा वर्षाका कारण बाटो अवरुद्ध भएको छ । वर्षाले जनजीवन प्रभावित भएको छ । लालबकैया र वाग्मतीमा पानीको सतह बढेको स्थानीय प्रशासनले जनाएको छ । प्रशासन र सुरक्षा अधिकारीको टोली डुबान र बाढी आउन सक्ने क्षेत्रको निरीक्षणका लागि निस्किएको छ ।
नुनथर क्षेत्रको पूर्वपट्टी रहेका पसल, घरहरू डुबानमा परेका छन् भने अहिले त्यस क्षेत्रका स्थानीय पश्चिमतर्फको अग्लो क्षेत्रमा बसेका छन् । वाग्मती नदीमा आएको बाढीले नुनथर क्षेत्र डुबानमा पारेको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।त्यस्तै लगातारको वर्षाले लालबकैया नदीमा खतराको संकेत पार गर्न लागेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । ‘अहिलेसम्म अवस्था ठिकै छ । जिल्लाका केही स्थान डुबानमा परेको भन्ने आएको छ,’ उनले भने, ‘नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी हाइआलर्टमा राखेका छौं । कुनै पनि बेला विपत्मा खट्नेछन् ।’
नदीमा पानीको सतह बढेकाले स्थानीयलाई सतर्क रहन प्रशासनले अनुरोध गरेको छ । प्रहरीका अनुसार गुजरा नगरपालिकाको सिम्राभवानीपुर–जंगलसैया बाटोमा राखिएको ह्युमपाइप बाढीले बगाएपछि अहिले आवतजावत नै अवरुद्ध भएको छ । त्यस्तै चन्द्रपुर–गैंडाटार बाटोमा राखिएको ह्युमपाइप बगाएपछि त्यहाँ पनि आवतजावत बन्द भएको छ । वर्षाको बेला सदरमुकाम गौरलगायत जिल्लाको उत्तरी भेग डुबानमा पार्दै आएको छ ।