वीरगंज । रामनिवास कुमार पटेल । वीरगंजको चिनी कारखाना परिसरमा रहेको पशुपतिनाथ मन्दिरको शिवलिङ्गको गहना बिहीबार चिनी कारखाना व्यवस्थापनले महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरेको छ । पशुपति मन्दिरको सौन्दर्यकरण गरि श्रद्धालु भक्तजन आउजाउ गर्ने वातावरण बनाएसँगै महानगर प्रमुख सिंहले शिवलिङ्गको गहनाको सम्बन्धमा खोजी गर्नुभएको थियो ।
जस अनुरुप तत्कालिन चिनी कारखाना व्यवस्थापनसँग गहना रहेको जानकारी आएपछि त्यसको व्यवस्थापनलाई मन्दिरको गहना उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । आज एक कार्यक्रमका बीच कारखाना व्यवस्थापनले महानगर प्रमुख सिंहलाई २०५९ सालमा मन्दिरबाट निकालेर राखेको शिवलिङ्गको गहना उपलब्ध गराएको हो ।
चाँदीको मुकुट, चाँदीको कमरबन्द, चाँदीको शंख, चाँदीको पिर्का, चाँदीको खराउ १÷१ थान यस्तै चाँदीको बेलपत्र भएको माला ४ थान, मुकुटसँगै लगाउने चाँदीको छाता ५ थान, सुनको पट्टी भएको ४ थान रुद्राक्षको माला चिनी कारखाना व्यवस्थापनले महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरेको हो ।
चिनी कारखाना व्यवस्थापनबाट प्राप्त गरेको गहना श्रावणी मेलाकै अवसरमा आउँदो सोमबार शिवलिङ्गमा पुनस्थापित गर्ने मेयर सिंहले बताउनुभयो ।