बुनिलाल हत्या प्रकरणः आठजनाविरुद्ध सङ्गठित अपराध मुद्दा दायर गरिंदै
वीरगंज संजाल
१ पुष २०७६, मंगलवार ०९:२३
५५०९
वीरगंज | वीरगंज वारुणयन्त्रका कर्मचारी वडा नं. १६ नगवा निवासी बुनिलाल चौरसिया हत्या प्रकरणमा प्रहरीले आठजनाविरुद्ध मुद्दा दायर गर्न जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको छ ।पर्सा प्रहरीले कात्तिक ७ गते राति भएको हत्याकाण्डको अनुसन्धान गरी मङ्सिर २७ गते जिल्ला न्यायाधिवक्ताको कार्यालयमा फाइल पठाएको बुझिन आएको छ ।
लामो अनुसन्धानपछि प्रहरीले घटनामा आठजनाविरुद्ध कर्तव्य ज्यान तथा सङ्गठित अपराध मुद्दा दायर गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयमा फाइल दाखिला गरेको छ ।जिल्ला न्यायाधिवक्ताको कार्यालय, पर्साले प्रहरीले आठजनाविरुद्ध कर्तव्य ज्यान तथा सङ्गठित अपराध मुद्दा दायर गर्न फाइल पठाएको र आजभोलिमा अदालतमा मुद्दा दायर गरिने जानकारी गराएको छ ।
बुनिलाल हत्याकाण्डमा पर्सा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज–६ माईस्थानका दीपककिशोर अग्रवाल, निजकी पत्नी निधि अग्रवाल र अर्का जयचन्द साह छन् । प्रहरी अनुसन्धानले हत्या आर्थिक लेनदेनको विषयलाई लिएर भएको निक्र्स निकालेको छ ।अग्रवाल दम्पती र साहको संलग्नतामा भारतबाट सुटर ल्याएर नियोजित तरीकाले हत्या गरिएको अनुसन्धानमा देखिएको छ ।
प्रहरीले कर्तव्यज्यान तथा सङ्गठित अपराधमा अभियुक्तहरूलाई साठी दिन हिरासतमा राख्न सक्ने व्यवस्था छ । सो अवधि पूरा हुन लागेपछि प्रहरीले पक्राउ परेका तीनजना र फरार ५ जनाको सूची तयार गरी मुद्दा दायर गर्न लागेको हो ।