
वीरगंज | पर्यटकीय गन्तव्य राराताल जाने नाग्म–गमगढी सडक अन्तर्गतका दुई वटा पक्की पुल निर्माण अलपत्र परेका छन् । विभिन्न जोखिमयुक्त खोलामा ३२ करोड लगानीमा १० वटा पक्की पुल निर्माण थालिएकोमा दुई वटा अलपत्र परेका हुन् ।
सडक डिभिजन जुम्लाका अनुसार नाग्म–गमगढी सडकको प्रवेशविन्दु कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको हिमा गाउँपालिकाको सीमाक्षेत्र बालुवाखोला र कनकासुन्दरी गाउँपालिका–६ स्थित गोठिज्युला खोलाका पुल जग्गा विवादले अलपत्र पर्दै आएका छन् । पुल नबनेपछि बर्खायाममा जोखिम मोलेर सवारीसाधन खोलामै गुडिरहेका छन् । करिब पाँच वर्षदेखि निर्माण थालिएका १० वटा पुलको सम्झौता म्याद पुनः थपिएको छ ।
रोकायाबाडाको पुल निर्माण सम्पन्न भए पनि जग्गा विवादले सञ्चालनमा आउन सकेको छैन । बालुवाखोलामा हिमा गाउँपालिकातर्फ पिल्लर खडा भएको बर्सौं भइसक्यो । पिल्लरका सरियामा खिया लागिसकेका छन् तर कालीकोटतर्फको जग्गाधनीले जग्गा दिन नमानेपछि पुल निर्माण अघि बढ्न सकेको छैन । पटक पटक जगाधनीसँग छलफल गरिए पनि निष्कर्ष निस्केको छैन । सरकारले डिजाइन, स्टिमेट परिवर्तन गरेर पुल अर्को ठाउँमा निर्माण गर्ने तर मुआब्जा दिन नमिल्ने भएकाले जग्गा विवाद सुल्झिएको छैन ।
हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले धेरै पटक जग्गाधनी, सडक डिभिजन र प्रशासनबिच छलफल गरेको बताउनुभयो तर विवाद टुङ्गोमा नपुग्दा पुल निर्माण अस्तव्यस्त भएको छ । पक्की पुल निर्माण अलपत्र परेपछि हिमा गाउँपालिकाले अस्थायी काठेपुल निर्माण गरेका छन् । “हामीले बनाएको अस्थायी काठेपुलले मोटरसाइकल गुड्न सहज भएको छ । त्यो पनि बर्खाको सिजनमा पानीको बहाब बढ्दा जोखिम छ । विगतमा धेरै मोटरसाइकलसमेत बगे । पुल निर्माण नहुँदा यात्रुले सास्ती पाएका छन्,” अध्यक्ष शाहीले भन्नुभयो ।
उता कनकासुन्दरी गाउँपालिकाको गुठिज्युला खोलामा निर्माण हुने पुल पनि अहिलेसम्म तयार भएको छैन । पुल बनाउँदा खत्याड जाने बाटो बन्द हुने र केही घर भत्काउनुपर्ने भएकाले स्थानीयले जग्गा दिन मानेका थिएनन् । पुलको लम्बाइ २० मिटर भएकाले जग्गा व्यवस्थापनमा सकस भएको थियो । पुल निर्माणमा ढिलाइ हुँदा रारा जाने पर्यटकदेखि अन्य सवारीसाधन खोलामै गुडिरहेका छन् ।
सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराले गुठिज्युला पक्की पुलको विवाद समाधान भएर अब निर्माणको प्रक्रियामा रहेको दाबी गर्नुभयो । बालुवाखोला पुलको जग्गा विवाद भने अझै समाधान भएको छैन । डिभिजन प्रमुख महताराले नाग्म–गमगढी सडकमा १० पक्की पुल बन्दै गरेको बताउनुभयो । जग्गाधनीलाई मुआब्जा दिने तयारी भएको उहाँको भनाइ छ ।