
वीरगंज | विदेशी राष्ट्रप्रमुखलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति ह्वाइट हाउसबाट सिधै विमानस्थल पुग्नु सामान्य कूटनीतिक अभ्यास होइन। तर, बुधबार साँझ मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा एउटा यस्तै दृश्य देखियो।
चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नी पत्नी मेलानियासहित विमानस्थलमै पर्खिरहेका थिए। सी र उनकी पत्नी पेङ लियुआन विमानबाट ओर्लिंदा रेड कार्पेट, अमेरिकी सेनाको ब्यान्ड र फ्लाई-ओभरसहित भव्य स्वागत गरियो। ट्रम्पले मुस्कुराउँदै सीको काँधमा धाप मारे।
तर, यो न्यानो स्वागत र रेड कार्पेटभित्र अमेरिका र चीनबीचको गहिरो भूराजनीतिक टकराव, विश्व अर्थतन्त्रको दाउपेच र ट्रम्पको कूटनीतिक विरोधाभास अन्तरनिहित छ।
ट्रम्पको विरोधाभास : मित्रलाई डण्डा, प्रतिस्पर्धीलाई सम्मान
अमेरिकी सञ्चार माध्यमहरूले ट्रम्पको गतिविधिहरूलाई विरोधाभासको रूपमा चित्रित गरेका छन् । एकातिर क्यानडा र युरोपेली संघ (ईयू) जस्ता पुराना सहयोगीहरूलाई ‘१०० प्रतिशत ट्यारिफ’ लगाउने धम्की दिइरहेका ट्रम्प, अर्कोतिर अमेरिकाको सबैभन्दा ठूलो रणनीतिक प्रतिस्पर्धी चीनका नेताका लागि रेड कार्पेट ओछ्याइरहेका दृश्यलाई उनीहरूले विरोधाभासको रूपमा चित्रित गरेका हुन् ।
कूटनीतिमा एउटा सामान्य नियम हुन्छ- शत्रुभन्दा आफ्ना सहयोगीहरूलाई राम्रो व्यवहार गर। तर, ट्रम्प ठीक उल्टो बाटोमा हिँडिरहेको भन्दै अमेरिकाभित्रै उनको तीव्र आलोचना भइरहेको छ।
रिपब्लिकन सिनेटर रोजर विकरले त सिनेटमै उभिएर सीलाई ‘क्रूर र दमनकारी तानाशाह’ भन्दै ट्रम्पले उनलाई निमन्त्रणा दिनै नहुने तर्क गरे। ट्रम्पले चीनले इरानलाई गरिरहेको सहयोग र सन् २०२० को चुनावमा गरेको भनिएको हस्तक्षेपलाई समेत बेवास्ता गर्दै आएका छन्।
चीनले इरानलाई अमेरिकी सेनाविरुद्ध आक्रमण गर्न भूउपग्रहको तस्बिर उपलब्ध गराएको विषयमा ट्रम्पको हल्का जवाफ थियो- ‘उनीहरू त्यही गर्छन्, जे हामी गर्छौँ। हामी पनि त उनीहरूमाथि जासुसी गर्छौँ नि।’
ट्रम्प व्यक्तिगत सम्बन्धलाई कूटनीतिको हतियार मान्छन्, तर बेइजिङ चाकरीभन्दा शक्ति र प्रतिरोधलाई बढी बुझ्छ भन्ने यथार्थ उनले नजरअन्दाज गरेको विदेश नीति विश्लेषकहरूको बुझाइ छ।
व्यापार युद्धमा ‘टाइम-बाइङ’ रणनीति: दुई महिनाको युद्धविराम
सीको यो भ्रमणको सबैभन्दा ठूलो तत्कालिन उपलब्धि व्यापारिक युद्धविराम हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीचको व्यापारिक युद्धविरामलाई थप दुई महिना (जनवरी १० सम्म) लम्ब्याउने सहमति भएको खुलाएका छन्। यसअघि यो सहमति नोभेम्बर १० मा सकिँदै थियो।
यस सहमतिअनुसार अमेरिकाले चिनियाँ अर्थतन्त्रमाथि लगाउने केही ट्यारिफ र प्रतिबन्धलाई स्थगन गर्नेछ भने बदलामा चीनले अमेरिकी उद्योगहरू (कार, विमान, चिप्स आदि) का लागि नभई नहुने रेयर अर्थ मिनरल्सको निरन्तर आपूर्ति गर्नेछ।
यो दुई महिनाको समयसीमा निकै अर्थपूर्ण छ। आगामी नोभेम्बर ३ मा अमेरिकामा मध्यावधि चुनाव हुँदैछ। अक्टोबरमा बेइजिङमा कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक, नोभेम्बरमा चीनमै एपेक सम्मेलन र डिसेम्बरमा मियामीमा जी-२० सम्मेलन हुँदैछन्।
ब्रुकिङ्स इन्स्टिच्युसनका विश्लेषक जोनाथन सीजिनका अनुसार, सी जिनपिङ समय किनिरहेका छन्। मध्यावधि चुनावपछि ट्रम्प अमेरिकी राजनीतिमा कमजोर बन्न सक्ने आँकलनसहित सीले हाललाई यो भद्र सहमतिलाई निरन्तरता दिने रणनीति अपनाएका हुन्।
वार्ताको टेबुलका मुख्य एजेन्डा
ह्वाइट हाउसको स्टेट डिनर र बिहीबारको द्विपक्षीय वार्ता मूलतः चारवटा एजेन्डामा छलफल हुने बताइएको छ ।
१. आर्टिफिसियल इन्टेलिजेन्स : यो भ्रमणमा पहिलोपटक एआईको सुरक्षा र नियमनमा गम्भीर वार्ता हुँदैछ। अमेरिकाले चीनलाई एआई चिप्स दिन रोकेको छ। अब दुवै देशले राष्ट्रिय सुरक्षामा खतरा पुर्याउन सक्ने एआई जोखिमहरूबारे एक-अर्कालाई जानकारी गराउने नयाँ नोटिफिकेसन प्रणालीमा सहमति जुटाउने सङ्केत अर्थमन्त्री बेसेन्टले दिएका छन्।
२. ताइवान मामिला: एसियाको समुद्री मार्ग र सेमीकन्डक्टर चिपको मुटु मानिने ताइवानमाथिको अमेरिकी समर्थन घटाउन सीले दबाब दिनेछन्।
३. रुस र इरान ‘कनेक्सन’: चीनले रुसबाट ठूलो मात्रामा तेल किनिरहेको छ भने इरानलाई आर्थिक जीवनदान दिइरहेको छ। अमेरिकी दबाब र १०० प्रतिशत ट्यारिफको धम्कीबीच यो विषय पेचिलो बन्नेछ।
४. ट्यारिफ कटौती: करिब ३०-३० अर्ब डलरबराबरको सामानमा ट्यारिफ घटाउन र कृषि तथा ऊर्जा उत्पादनमा कर कम गर्ने विषय पनि टेबलमा छ।
सीको पर्ख र हेरको नीति
अमेरिका ओर्लिनेबित्तिकै चिनियाँ सरकारी सञ्चारमाध्यममार्फत लिखित वक्तव्य जारी गर्दै सीले ‘सहकार्य, व्यवस्थित प्रतिस्पर्धा र शान्ति’को सन्देश दिएका छन्। तर, उनले दुई देशबीचका गम्भीर मतभेदहरूबारे भने केही उल्लेख गरेनन्।
आगामी वर्ष सत्ताको चौथो कार्यकाल सम्हाल्ने तयारीमा रहेका ७३ वर्षीय सी लामो रेसको घोडा बनिरहँदा, ट्रम्प भने घरेलु राजनीतिको मध्यावधि दबाबमा छन्। ट्रम्प रेड कार्पेट र आतिथ्य सत्कारमार्फत चीनबाट रणनीतिक लाभ लिन चाहन्छन्।
तर, चिनियाँ नेताहरू प्रशंसाभन्दा शक्तिको भाषा बुझ्छन् भन्ने विगतका शिखर सम्मेलनहरूले देखाइसकेका छन्। त्यसैले, यो भ्रमण ट्रम्पको व्यक्तिगत कूटनीति र सी जिनपिङको रणनीतिक धैर्यताबीचको एउटा ठूलो परीक्षण बनेको छ ।