
वीरगंज | बंगलादेशको राजनीतिमा आज एउटा नयाँ अध्याय सुरु हुँदै छ । लामो समयसम्म पूर्वप्रधानमन्त्रीद्वय शेख हसिना र खालिदा जियाका विचार र प्रभावको वरिपरि घुमिरहेको बंगलादेशले ३५ वर्षपछि तारिक रहमानका रूपमा नयाँ प्रधानमन्त्री पाउँदै छ ।
बंगलादेशको आम निर्वाचनमा आफ्नो पार्टीलाई सानदार जित दिलाएपछि रहमानले मंगलबार नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका हुन् ।
१३औँ संसदीय निर्वाचनमा रहमानको बंगलादेश नेसनलिस्ट पार्टीले २९७ मध्ये २०९ सिट जितेको छ । दक्षिणपन्थी दल जमात–ए–इस्लामीले ६८ सिट हासिल गरेको छ ।
रहमानले आफ्नो नयाँ मन्त्रिपरिषद्का सदस्यहरूसहित पद तथा गोपनीयताको शपथ लिनेछन् । उक्त समारोहमा सहभागी हुन नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, चीन, साउदी अरब, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया र ब्रुनाईका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ । नेपालका परराष्ट्रमन्त्री उक्त समारोहमा जाने कार्यक्रम छ ।
लामो समयदेखि चल्दै आएको परम्परालाई तोड्दै ६० वर्षीय बीएनपी अध्यक्षको शपथग्रहण समारोह ‘बंगभवन’ को सट्टा संसद् भवन परिसरको दक्षिण प्लाजामा आयोजना गरिनेछ ।
यद्यपि, रहमानको यो यात्रा त्यति सहज भने रहेन । लामो निर्वासन र राजनीतिक चुनौतीका बाबजुद रहमानले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)लाई मजबुत रूपमा एकजुट बनाए । र, युवा मतदाताहरूलाई आकर्षित गर्दै जनसमर्थनको नयाँ लहर खडा गरे ।
आम निर्वाचनमा पार्टीको ऐतिहासिक जितले उनको रणनीतिक क्षमता र करिश्माई नेतृत्वलाई उजागर गरेको छ । यसैको फलस्वरूप आज अर्थात् मंगलबार तारीक रहमान बंगलादेशको प्रधानमन्त्रीका रूपमा शपथग्रहण गर्दै छन् । यो क्षण बंगलादेशमा उनको राजनीतिक यात्राको एक महत्वपूर्ण प्रतीक बनेर उदाएको छ ।
रहमानको कठिन यात्रा
बंगलादेशको राजनीति दशकौँदेखि दुई मुख्य पारिवारिक–राजनीतिक धाराहरूबीच घुमिरह्यो । जसमा पदच्युत प्रधानमन्त्री शेख हसिना र पूर्वप्रधानमन्त्री दिवंगत खालिदा जिया प्रमुख पात्र थिए । यस्तो अवस्थामा सन् २०२६ को निर्वाचनमा बीएनपीको जित र रहमानको उदयमान भूमिकाले देशको नेतृत्व अब नयाँ राजनीतिक युगमा प्रवेश गर्न सक्ने संकेत गरेको छ ।
२० नोभेम्बर १९६५ मा जन्मिएका रहमान बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का वरिष्ठ नेता तथा पार्टी अध्यक्ष हुन् । उनी पार्टीको सर्वोच्च राजनीतिक संरचनाको नेतृत्व गर्छन् । आफ्नो प्रारम्भिक शिक्षा ढाकाको बीएएफ शाहिन कलेजबाट पूरा गरेपछि उनले ढाका रेजिडेन्सियल मोडल कलेजबाट थप अध्ययन गरे । उनको उच्च शिक्षा ढाका विश्वविद्यालयबाट भएको हो । यहीँबाट उनले राजनीतिमा सक्रिय भूमिका निभाउन सुरु गरेका थिए ।
उनी बंगलादेशको इतिहासमा गहिरो राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आएका हुन् । उनका पिता जिया उर रहमान बंगलादेशका राष्ट्रपति तथा स्वतन्त्रता सेनानीमध्ये एक थिए, जसको सन् १९८१ मा हत्या भएको थियो ।
उनकी आमा बेगम खालिदा जिया सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म बंगलादेशकी प्रधानमन्त्री रहिन् । र, बीएनपीकी प्रमुख अध्यक्ष थिइन् ।
आफ्नो राजनीतिक जीवनको सुरुआती चरणदेखि नै तारिक आफ्नो परिवारको राजनीतिमा संलग्न रहे र बीएनपीभित्र स्थायी भूमिका निर्वाह गर्दै आएका छन् ।
तारिक रहमानलाई बंगलादेशको राजनीतिमा ‘तारिक जिया’ पनि भनिन्छ । सन् १९७१ को मुक्ति संग्रामको समयमा उनी मात्र चार वर्षका थिए । केही समयका लागि हिरासतमा समेत परेका थिए । यसै कारणले उनको पार्टी बीएनपीले उनलाई युद्धकालको सबैभन्दा कम उमेरको बन्दीका रूपमा उल्लेख गर्दै सम्मान दिने गरेको छ ।
उनको राजनीतिक पहिचान पनि यही पारिवारिक र ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको छ । सानै उमेरमा भोगेको संघर्ष र परिवारको विरासतले उनलाई बंगलादेशी राजनीतिका प्रमुख अनुहारमध्ये एक बनाइदिएको छ ।
रहमान सन् २००१ मा ३५ वर्षको उमेरमा सक्रिय राजनीतिमा उदाए । सन् २००२ मा बीएनपीको वरिष्ठ पदमा पुगे । उनको तीव्र उदयलाई विपक्षीहरूले नातावादको संज्ञा दिए, तर उनी संगठनात्मक रणनीतिकार र कडा नेतृत्वका लागि परिचित बने ।
औपचारिक सरकारी पदमा नरहे पनि उनले पार्टीमा बलियो पकड बनाए । उनी कार्यवाहक अध्यक्ष बने र ३० डिसेम्बरमा खालिदा जियाको निधनपछि बीएनपी अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्न थालेका थिए ।
अवामी लिगको शासनकालमा रहमानमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, अवैध सम्पत्ति आर्जन तथा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको हत्याको षड्यन्त्रसँग जोडिएका मुद्दासहित कैयौँ आरोप लगाइए । उनको अनुपस्थितिमै दोषी ठहर गरियो ।
उनी १७ महिनासम्म हिरासतमा पनि रहे । रहमानले यी सबै आरोपहरूलाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । उनलाई सन् २००७ मा भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो । यस क्रममा उनले जेलमा मानसिक तथा शारीरिक उत्पीडन भोग्नुपरेको दाबी गरेका छन् ।
लन्डनमा स्व–निर्वासन
सन् २००८ मा अवामी लिगको भारी जितपछि उनी उपचारका लागि लन्डन गए, जहाँ उनी करिब १७ वर्षसम्म बसे । यस अवधिमा पनि उनले पार्टीको रणनीति र संगठनमाथि नियन्त्रण कायम राखे, जसलाई दक्षिण एसियाली राजनीतिमा असामान्य अवस्था मानिन्छ ।
रहमान कहिल्यै पनि राष्ट्रिय संसद्का सदस्य भएका छैनन् । उनको प्रभाव चुनावी पदबाट होइन, संगठनात्मक नियन्त्रण, पारिवारिक विरासत र पार्टी नेतृत्वबाट उदाएको हो ।
रहमानका समर्थकहरूका लागि जिया उर रहमानको विरासत र प्रतिस्पर्धी लोकतन्त्रको बहालीका प्रतीक हुन् । आलोचकहरूका लागि भने उनी वंशवादी राजनीति र जवाफदेहितासँग जोडिएका अनुत्तरित प्रश्नहरूको प्रतिनिधित्व गर्छन् । जब, बीएनपी नेतृत्वको गठबन्धन जमात–ए–इस्लामीसँग मिलेर सत्तामा गएको थियो, त्यही समयमा रहमानले ‘डार्क प्रिन्स’ उपनाम पाएका थिए ।
