वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमको अध्यक्षतामा सङ्घमा नेपाल बार एसोसिएसन, पर्साका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष श्री राम नारायण कुर्मी, सचिव श्री प्रतिमा कुमारी चौरसिया, सह–सचिव श्री दिव्या सिंह लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सङ्घका तर्फबाट वरिष्ठ उपाध्यक्ष श्री माधव राजपाल, उपाध्यक्ष श्री आशिष कुमार लाठ, महासचिव श्री शिवजीप्रसाद शाह, कोषाध्यक्ष श्री अनोज रुँगटा, सह–कोषाध्यक्ष श्री निरज अग्रवाल, कार्यसमिति सदस्यहरू तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा दुवै संस्थाबीच विद्यमान ऐन, कानूनसँग सम्बन्धित अस्पष्टतालाई निरुपण गर्न र व्यवसायी तथा उद्योगीहरूलाई आवश्यक कानुनी परामर्श र सहयोग उपलब्ध गराउने उद्देश्यले कानुनी सहायता डेक्स स्थापनाका लागि पहल गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
भेटघाटले उद्योगी–व्यवसायी र कानुनी क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।