वीरगञ्ज | वीरगञ्जको मुख्य सडक (२५/२५ मिटर) फराकिलो गर्ने निर्णयविरुद्ध स्थानीय व्यवसायी र घरधनीहरू आन्दोलित भएका छन्। उनीहरूले आज बिहानदेखि वीरगञ्ज बजार बन्द गराउँदै घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरेका हुन्।
सर्वोच्च अदालतले २०८१ साल फागुन २८ गते नेपाल सरकारले मुख्य सडक फराकिलो बनाउने निर्णयविरुद्ध घरधनीहरूले दायर गरेको रिट निवेदन खारेज गरेको थियो। अदालतको निर्णयपछि वीरगञ्ज महानगरपालिकाले सडक विस्तारको काम अघि बढाउँदै सडकमा पर्ने संरचनाहरू भत्काउन थालेपछि व्यवसायीहरूको आक्रोश चुलिएको हो।
व्यवसायीहरू सडक विस्तारको नाममा आफूहरूलाई विस्थापित गर्न खोजिएको आरोप लगाउँदै विरोधमा उत्रिएका छन्। उनीहरूले आफूहरूको व्यापार चौपट हुने भन्दै सडक विस्तारको कार्य तत्काल स्थगित गर्न माग गरेका छन्।
बजार बन्दका कारण बिहानैदेखि वीरगञ्जका मुख्य सडक क्षेत्र सुनसान देखिएको छ। विरोधको क्रममा प्रदर्शनकारीहरूले “व्यवसायीमाथि अन्याय नगर”, “हाम्रो व्यापार जोगाऊ” भन्ने नारासहित सडक जाम गरेका थिए।
महानगरपालिकाका अनुसार सडक विस्तार कार्य अन्तर्गत सडक चौडा पार्ने, ढल निकास सुधार गर्ने र सवारी व्यवस्थापन सहज बनाउने योजना रहेको छ।