काठमाडौं । नेपाली टिम होरा ईस्पोर्ट्सले ‘पब्जी मोबाइल विश्वकप २०२५’ मा छनोट हुँदै नयाँ कीर्तिमान कायम गरेको छ। यससँगै यो पहिलो नेपाली टिम बनेको छ जसले पब्जी मोबाइलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता विश्वकपमा सहभागी हुने मौका पाएको हो।
होरा ईस्पोर्ट्सले कजाखस्तानको अल्माटीमा सम्पन्न सुपर लिग २०२५ मा १८ खेलमा १३३ अंक जोड्दै दोस्रो स्थान हासिल गर्दै विश्वकपको टिकेट पक्का गरेको हो। प्रतियोगितामा मंगोलिया-चीनको टिम अल्फा गेमिङ पहिलो स्थानमा रहँदा पाकिस्तानको फोर्सथाइब्स टिम तेस्रो भयो।
यो सुपर लिग प्रतियोगिता ‘साउथ एशिया सिफ्र २०२५’ अन्तर्गत सञ्चालित थियो, जहाँ कुल २ लाख अमेरिकी डलर पुरस्कार राशीको प्रतिस्पर्धा थियो। प्रतियोगिताको नियमअनुसार शीर्ष तीन टिम विश्वकपमा सहभागी हुने प्रावधान रहेको थियो।
होरा ईस्पोर्ट्सको उत्कृष्ट प्रदर्शनले नेपाली ईस्पोर्ट्स जगतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उल्लेख्य उपलब्धि ल्याएको छ। पब्जी मोबाइल विश्वकप २०२५ मा अब नेपालले पनि आफ्नो झण्डा फहराउने अवसर पाएको छ।