वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ मा पर्ने आईसीपी (इण्टिग्रेटेड चेक पोस्ट) रोडमा ट्राफिक प्रहरीले अवैध रूपमा चालकहरूसँग पैसा असुली गर्दै आएको खुलासा भएको छ।
भारततर्फबाट भित्रिने मालबाहक ट्रकहरूबाट ट्राफिक प्रहरीले रु १०० देखि ५०० सम्मको रकम रसिदबिनै असुल्ने गरेको पाइएको छ।
बिहीबार राति ११ बजे ट्राफिक प्रहरी रकेश यादवले एक ट्रक चालकसँग रु ५०० लिएका थिए। त्यो रकम नपुग्दा उनले चालकलाई हिन्दीमा गालीगलौज गरेका थिए। सोही बेला घटनास्थलमा पुगेका वीरगन्ज संजाल डट कमका पत्रकारले उक्त गतिविधि प्रत्यक्ष अवलोकन गरेपछि यादवले चालकको कागज फिर्ता गरिदिएर त्यहाँबाट फरार भएका थिए।
रकेश यादवसँगै थप दुई ट्राफिक प्रहरी पनि थिए, जो अन्य गाडी चालकहरूसँग रकम असुल्नमा व्यस्त थिए। पत्रकारको उपस्थिति थाहा पाउने बित्तिकै उनीहरू समेत भागेका थिए।
घटनास्थलमा रहेका अन्य चालकहरूले भने, “इनिहरूले त दैनिक पैसा माग्छन्। नदिए कागज लिन्छन् र पछि चिट काट्ने धम्की दिन्छन्। रसिद कहिल्यै दिँदैनन्।”
चालकहरूले ट्राफिक प्रहरीको यस्तो दुराचारप्रति आक्रोश व्यक्त गर्दै सम्बन्धित निकायसँग तत्काल छानबिन र कडा कारबाहीको माग गरेका छन्।