हेटौंडा । मकवानपुरको हेटौंडामा कपडाको मूल्यमा विवाद हुँदा एक पसल सञ्चालकमाथि कुटपिट भएको छ।
बिहीबार दिउँसो हेटौंडा उपमहानगरपालिका-१०, राप्तीरोडस्थित दास इम्पोरियम कपडा पसलका सञ्चालक (साहु) माथि तीन जनाको समूहले काठको बेलनाले प्रहार गरी घाइते बनाएको हो।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, दिउँसो करिब ३ बजे मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरूले कपडा किन्ने क्रममा मूल्य घटाउने विषयमा विवाद गरेका थिए।
विवाद बढ्दै गएपछि उनीहरूले पसल सञ्चालक अन्दाजी ६५ वर्षीय बिन्दल दासलाई रोटी बेल्ने बेलनाले टाउकोको पछाडिको भागमा प्रहार गरेका थिए।
आक्रमणबाट घाइते भएका दासको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनाको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
जिल्ला प्रहरी कार्यालयबाट करिब ३ सय मिटर पूर्वमा भएको उक्त घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।