रौतहट : बिहीबार बिहानदेखि बन्द रहेको पूर्व पश्चिम राजमार्गको चन्द्रपुर–१ बागमतीमा गरेको चक्काजाम ७ घण्टापछि खुलेको छ। चन्द्रपुर नगरपालिका-१ को बागमती खण्डमा बिहीबार सवारी साधनको ठक्करबाट चन्द्रपुर–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको मृत्यु भएपछि स्थानीयले चक्काजाम गरेका थिए।
पीडित पक्षलाई न्याय दिलाउने र भागेको सवारी साधन नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउने सर्तमा राजमार्ग खुलाउन सहमति भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए।
ठक्कर दिने सवारी साधन र चालक फरार भएपछि स्थानीय आक्रोशित हुँदै बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म चक्काजाम गरेका थिए। राजमार्ग जाम भएका कारण पूर्व-पश्चिम यात्रा गर्ने यात्रुहरूको बिचल्ली भएको थियो। राजमार्गमा जडान गरिएको सीसीटीभी क्यामरामार्फत ठक्कर दिने सवारी साधनको पहिचानका लागि जाँच भइरहेको नायब उपरीक्षक राईले बताए।