धनगढी । कैलालीको खैरीपुरस्थित प्रहरी चेकपोष्टका इन्चार्ज यज्ञराज पन्तले एक महिलामाथि हातपात गरेको आरोप लागेको छ।
टीकापुर नगरपालिका–७ मा पर्ने हुलाकी राजमार्गको खैरीपुर चेकपोष्टमा डिउटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) पन्तले टीकापुर नगरपालिका–१ की २९ वर्षीया राजकुमारी कुँवर शाहमाथि शुक्रवार साँझ हातपात गरेको भन्दै उजुरी परेपछि घटना सार्वजनिक भएको हो।
शाहले आफू माथि हातपात भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएकी छिन्। निवेदनपछि प्रहरी कार्यालयले तत्काल छानबिन प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।
“शुक्रवारको उक्त घटनाबारे पूर्ण छानबिन गरिनेछ,” प्रवक्ता सिंहले बताए, “दुवै पक्षको भनाइ लिइसकेपछि आवश्यक निर्णय लिने छौं।”
पीडित महिलाले सार्वजनिक स्थानमा डिउटीमा रहेका सुरक्षाकर्मीबाट यसरी व्यवहार हुनु दुःखद् रहेको बताएकी छन्। हाल घटनाको अनुसन्धान भइरहेकाले प्रहरीले कुनै निष्कर्षमा पुग्न समय लाग्ने जनाएको छ।