वीरगंज | पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ६ स्थित माधोपुरमा एक विशेष कार्यक्रममा ८० जना महिलाहरू एकैपटक जनमत पार्टीमा प्रवेश गरेका छन्।
पार्टीका पर्सा जिल्ला सदस्य अनिता रामको पहलमा आयोजित कार्यक्रममा सहभागी महिलाहरूले सामाजिक रुपान्तरण र राजनीतिक सहभागितामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै पार्टी सदस्यता ग्रहण गरेका हुन्।
सो अवसरमा कलिता देवी रामको अध्यक्षतामा ४१ सदस्यीय महिला टोल समिति समेत गठन गरिएको छ, जसले स्थानीय तहमा पार्टीको सांगठानिक सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।
जनमत पार्टीले महिलाहरूको राजनीतिक सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा माधोपुरको यो पार्टी प्रवेश कार्यक्रमले महिला सशक्तिकरण अभियानलाई थप ऊर्जा दिने विश्वास पार्टीका नेता बृजेश्वर प्रसाद चौधरीले व्यक्त गरे।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ई. राहुल रौनियार, प्रदेश सदस्य बृजेश्वर चौधरी, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, पालिका अध्यक्ष सुनिल मुखिया, युवा वीरगंज अध्यक्ष संजय सिंहलगायतको उपस्थिति रहेको थियो।