काठमाडौँ — बंगालको खाडीबाट आएको हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट बन्ने मनसुन सामान्यत: मे ३१ वा जुन १ (जेठ १७ वा १८) मा केरला आइपुग्छ र जुन १३ (जेठ ३०) भित्र नेपाल प्रवेश गर्छ । तर, भारतको मौसम विभागका अनुसार दक्षिणी केरला राज्यमा सरदर एक साताअगावै शनिबार मनसुन भित्रियो । भारतमा औसत समयभन्दा अगावै मनसुन प्रवेश गरिसकेकाले नेपालमा पनि चाँडै मनसुन सुरु हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आकलन गरेको छ । ‘केरलामा मनसुन आइसकेकाले अबको ७ देखि १० दिनभित्र पूर्वी नेपालको झापा हुँदै प्रवेश गर्ने सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘तर, यति नै गते भित्रिन्छ भन्नचाहिँ सकिँदैन, निरन्तर अवलोकनमै छौं ।’ कहिले नेपाल भित्रिन्छ भनेर सुरुवाती मनसुनको गति र सक्रियताका आधारमा भर पर्ने उनले बताइन् । भारतको मौसम विभागले सञ्चारमाध्यमलाई बताएअनुसार यस वर्ष प्रवेश भइसकेको मनसुन १६ वर्षयता अर्थात् सन् २००९ मे २३ पछि सबैभन्दा चाँडो भित्रिएको हो ।
मनसुन प्रवेशले गर्मीबाट राहत मिले पनि क्षति सुरु भइसकेको छ । हावाहुरीसँगै आएको वर्षाले भारतका विभिन्न ठाउँमा यातायात सेवा प्रभावित बनेका छन् । भारतको मौसम विभागले केरलामा मनसुन प्रवेश गरेसँगै राजधानी नयाँ दिल्लीसहितका स्थानमा भारी वर्षा भएको र सोमबारसम्म जारी रहने भएकाले सतर्कता अपनाउन भनेको छ । २० लाख नागरिक प्रभावित हुन सक्नेपाँच दिनअघि जल तथा मौसम विभागले ‘राष्ट्रिय मनसुन फोरम २०८२’ कार्यक्रममा सार्वजनिक गरेको थियो । मनसुन ऋतुको हावापानी प्रक्षेपणअनुसार यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण छ । विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानी प्रारुप आकलन र साउथ एसिया सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा प्रक्षेपण गरिएको हो ।
कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहने अनुमान छ । सुदूरपश्चिमको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशीको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । यस वर्षको मनसुनबाट देशभर ४ लाख ५० हजार घरधुरीका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । यो गत वर्षको तुलनामा ३८ हजारभन्दा बढी घरधुरीका दुई लाखभन्दा बढी नागरिक हुन् । त्यसमा पनि मनसुन चाँडै प्रवेश हुने सम्भावना रहेकाले मनसुनजन्य जोखिम व्यवस्थापन तथा न्यूनीकरणमा जोड दिनुपर्ने मौसमविद् मानन्धरले सुझाव दिएकी छन् । ‘सबैभन्दा पहिला सबैले आफ्नो घर वरपरको ढल/नाला सफा गर्नुपर्यो, ब्लक भएका छन् भने स्थानीय पालिकाहरुले समेत सफाइ गरिदिनुपर्यो,’ उनले भनिन्, ‘मनसुनको पूर्वार्द्धमा नै बाढी, पहिरोजस्ता अप्रत्यासित मनसुनी विपद् हुने आकलन गरिएको छ, जोखिम र क्षतिको सम्भावना उत्तरार्द्धसम्म नै रहन्छ ।’
पूर्वानुमानमा आधारित विपद् पूर्वतयारी तथा प्रतिकार्य विज्ञ दीनानाथ भण्डारी मनसुनी विपद् पूर्वतयारी, उद्धार र प्रतिकार्यमा राज्य संयन्त्र जिम्मेवार हुनुपर्ने बताउँछन् । ‘यसपालि हिमाली क्षेत्रमा अलि बढी पानी पर्ने र गर्मी हुने आकलन भएअनुसार जोखिम हुनेमा कुनै द्विविधा छैन,’ उनले भने, ‘प्रतिकार्य कार्ययोजना बर्सेनि बनेकै हुन्छ, कार्यान्वयन गर्ने बेला भर्खर असार मसान्त सकिएको भनेर उच्च पदस्थसहित कर्मचारी घुम्न/डुल्न जाने, कार्यालयमा नबस्ने, अगुवाइ गर्ने नभएर झन् जोखिम भइरहेको अघिल्ला वर्षका अनुभव छन्, यस वर्ष दोहोरिनुभएन ।’ असार, साउन र भदौमा मनसुनी विपद्को बढी जोखिम हुने भएकाले कर्मचारीहरु मानवीय हिसाबले कार्यालयमा खटिन जरुरी रहेको बताए । मौसम पूर्वानुमान महाशाखाले मनसुन आइपुग्ने दिन यकिन नभइसकेको बताए पनि गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जुन १ अर्थात् जेठ १८ भित्रै मनसुन भित्रिने पूर्वानुमान सहित तयारी थालेको प्रवक्ता रामबहादुर केसीले बताए । ‘हामीले चैतदेखि नै छलफल थालेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ बनिसकेको छ, जेठ १४ गते बिहानैदेखि कार्यकारी समितिको बैठक सुरु गरेर सार्वजानिक गर्छौं, केन्द्रदेखि स्थानीय तहसम्म सर्कुलेसन गरेर कार्यान्वयनमा अघि बढ्छ,’ उनले भने ।
कार्ययोजनामा सम्भावित जोखिमयुक्त क्षेत्रमा उद्धार, राहत सामग्रीको भण्डारण, डोजर/एक्स्काभेटर तयारी अवस्थामा राख्नेजस्ता विषय समेटिएका छन् । सुरक्षा निकाय परिचालन भइसकेको, जिल्लास्थित विपद् व्यवस्थापन समितिले पनि स्थानीय तहसँगको समन्वयमा पूर्वतयारी गरिरहेको जानकारी दिएको उनले बताए । ‘सरकारी संयन्त्रबाहेक नागरिक तहमा पनि सचेत हुनु जरुरी छ,’ उनले थपे, ‘जल तथा मौसम विभाग, हामी प्राधिकरण, स्थानीय तह लगायतले जारी गरेको पूर्वसूचनासित अपडेट रहिरहने र पूर्ण रुपमा पालना गरेर जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्यो ।’ जस्तो गत वर्ष सबैभन्दा बढी कञ्चनपुरको दोधारा मापन केन्द्रमा २४ घण्टामा ६२४ मिलिमिटर वर्षा भए पनि पूर्वतयारी र पूर्वकार्यले गर्दा मानवीय क्षति हुनबाट जोगिएको थियो ।
८० प्रतिशत वर्षा मनसुनका ४ महिनामै अहिले देशैभर प्रि-मनसुन चलिरहेको छ । मे सुरु भएपछि सबैजसो पहाडी भेगमा दिनहुँजसो बर्सात भइरहेको छ । सामान्यत: नेपालमा जुन १३ मा मनसुन प्रवेश गरेर ११२ दिनपछि अक्टोबर २ मा बाहिरिने गर्छ । मनसुन हुन अहिले सक्रिय पश्चिमी र स्थानीय वायुलाई बंगालको खाडीबाट आएको मनसुनी वायुले विस्थापित गर्नुपर्ने हुन्छ । मनसुनका चार महिनाबाहेक बाँकी आठ महिना भने नेपालमा पश्चिमी र स्थानीय वायु नै हाबी हुने गर्छ । मनसुनमा पूर्वीय हावा सक्रिय हुने भए पनि अरेबियन सागरबाट आएको वायु सक्रिय भएको खण्डमा पश्चिम नेपालमा पनि पानी पर्ने हुन्छ । तर सामान्यतया मनसुन कोशी प्रदेशबाट भित्रिएर सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिने मौसमविद् मानन्धरले बताइन् ।
गत वर्षको मनसुन तीन दिन चाँडै सुरु भएर १० ढिला बाहिरिएको थियो । ०८१ जेठ २८ देखि असोज २६ सम्म सक्रिय हुँदा सरदरभन्दा बढी मनसुनी वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागको विश्लेषणअनुसार गत वर्ष ७७ वर्षकै इतिहासमा सबैभन्दा ठूलो पानी परेको थियो । साउन ३२ गते सोलुखुम्बुको थामेमा हिमताल विस्फोटदेखि बाढी, पहिरो, भारी वर्षा र चट्याङजस्ता विपद्का घटनाले मानवीय र भौतिक क्षति बढाएको थियो । ओखलढुंगा, दोलखा, ताप्लेजुङ, संखुवासभा, जाजरकोट, गोरखा, बागलुङ, तनहुँ, ललितपुर, काभ्रे, सिन्धुली, रामेछाप, मकवानपुर र सिन्धुपाल्चोक गरी ६३ जिल्लामा मानवीय क्षति भएको थियो ।
राष्ट्रिय विपद् प्राधिकरणको ‘क्षति तथा नोक्सानीको प्रारम्भिक आकलन’ अनुसार करिब ४६ अर्ब ६८ करोड ४३ लाखभन्दा बढीको क्षति पुगेको थियो । जसमा सडक, पुल, जलविद्युत् लगायत भौतिक पूर्वाधारतर्फ ३८ अर्ब ९२ करोड ३४ लाख, कृषि तथा पशुधनतर्फ ५ अर्ब ८८ करोड २८ लाख, शिक्षातर्फ ७ करोड २ लाख, स्वास्थ्यतर्फ २ करोड १७ लाख र सिँचाइतर्फ १ अर्ब ३५ करोडको क्षति भएको थियो । मनसुनको सुरुवातमा कोशी प्रदेशका पहाडी जिल्लामा क्षति पुगेको थियो । अन्त्यतिर असोज १० देखि १३ सम्म अविरल र आरिघोप्टे पानी पर्दा आएको बाढी, पहिरो र डुबानमा परेर काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सबैभन्दा बढि क्षति भयो । तीन दिनको भारी वर्षाले २७६ जनाले मृत्यु भयो । १८ जना बेपत्ता र १७८ घाइते भए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य’ सम्बन्धी कार्ययोजनामा उल्लेख गरिएअनुसार वर्षभरि देशभर हुने कुल वर्षामध्ये ८० प्रतिशत मनसुनको चार महिना जेठ १८ देखि असोज १४ को अवधिमा र २० प्रतिशत वर्षा बाँकी आठ महिनामा हुन्छ ।