मकवानपुर | विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टोलीलाई ७-० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो | पुलिसको जितमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरिन् । मिनाले खेलको २१ औं, ४० औं र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
निर्माले ३४, ६६ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । पुलिसको लागि अर्को एक गोल ४५ औं मिनेटमा सुश्मा तामाङले गरिन् । देउवा प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्। फाइनल प्रवेश गरेको पुलिस उपाधिका लागि बिहीवार विभागीय टोली एपिएफ र संकटा क्लबबीचको विजेतासँग भिड्नेछन् ।
एपिएफ र संकटाबीचको सेमिफाइनल खेल मंगलबार नै दिउँसो हुनेछ । खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रोले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।