वीरगंज | सिमरा सेजमा मलाई पनि उद्योग सञ्चालन गर्ने इच्छा थियो । सोही अनुसार मैले जग्गा बुकिङ गरेँ । पछि सम्झौताका लागि बारम्बार फोन आउन थाल्यो । सम्झौता गर्ने बित्तिकै भाडा चालु हुन्थ्यो । २ वर्ष अघिको अवस्थामा नयाँ कारखाना सञ्चालन गर्ने वातावरण नै थिएन । लगानी गर्ने पैसा पनि थिएन । बैंकको ब्याजदर पनि चर्को थियो । त्यस्तो अवस्थामा बैंकसँग ऋण लिएर कारखाना सञ्चालन गर्न गाह्रो थियो ।
दुई पटक मैले म्याद पनि लिएँ । पछि नसक्ने जस्तो भएर छोडिदिएँ । बुकिङ गरेर सम्झौता गर्न नजाँदा बुकिङबापतको पनि पैसा फिर्ता नपाइने रहेछ । हामीले त्यो पैसा पनि माया मारिदियौँ । कति पैसा तिरेर बुकिङ गरेको थिएँ भन्ने अहिले मलाई याद पनि छैन ।
त्यतिबेला कारखाना चालु गर्ने हिम्मत नै थिएन । म त खाद्यान्नसँग जोडिएको मान्छे, सेजभित्र खाद्यान्नको कारखाना स्थापना गरेर भारततिर निर्यात गर्ने योजना मेरो दिमागमा थियो । विदेशबाट कच्चा पदार्थ मगाउने, त्यसबाट आफ्नो देशमा उत्पादन गरेर निर्यात गर्ने भन्ने मेरो योजना थियो । सोही अनुसार काम गर्न सकिन्छ कि भनेर सुरुमा जग्गा बुकिङ गरेको थिएँ । तर राष्ट्र बैंकले ल्याएको नयाँ–नयाँ कानुनका कारण आत्मविश्वास नै भएन ।
फेरि, अर्काको जग्गा भाडामा लिएर घर बनाउने, मेसिन राख्ने, पछि जग्गा पनि आफ्नो रहेन, बनाएको भौतिक संरचना भत्काएर कहाँ लाने ? साह्रै जोखिमपूर्ण काम लाग्यो । त्यो बेला मसँगै वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरू सुबोध गुप्ता, अनिल अग्रवालसहित ५/७ जना उद्योगीले सेजमा जग्गा बुकिङ गरेका थियौँ । पछि डराएर सबैले धमाधम छोड्दै गयौँ ।
अहिले पनि मलाई कसैले सेजमा जा भन्यो भने म आँट गर्दिनँ । अन्दाजको भरमा करोडौँको लगानी त म गर्न सक्दिनँ । आज म जे सोचिरहेको छु, भोलि त्यसमा सरकारले सहयोग गरेन भने के गर्ने ? मेरो आफ्नो जग्गा छ भने मसँग २० वटा विकल्प हुन्छ । गोदाम भत्काएर त्यसमा होटल खोल्न सक्छु । पार्टी प्यालेस चलाउन सक्छु ।
अहिलेको अवस्था सेजको मात्रै होइन, समग्र देशकै अवस्था उस्तै छ । सेज त यति सानो हिस्सा हो ।
अहिले सेजभित्र भारतीय र चाइनिज लगानी भित्रिएको छ । यो सकारात्मक कुरा हो तर, यिनलाई भाग्न नदिऊँ, उनीहरू टिक्न सकुन् र टिकाउनका लागि हामीले कोसिस गरौँ । मलाई थाहा भएसम्म उनीहरू भित्रभित्रै तर्सिएका छन्, त्यति उत्साहित छैनन् । बजारमा उनीहरूको उत्पादन आउनुपर्यो, नाफा कमाउनु पर्यो । उनीहरूले कमाएको देखेपछिमात्रै अरूले पनि लगानी ल्याउँछन् । त्यो त अहिले पर्ख र हेरको अवस्थामा छ ।
अहिलेको अवस्था सेजको मात्रै होइन, समग्र देशकै अवस्था उस्तै छ । सेज त यति सानो हिस्सा हो । देशभित्र लगानीको वातावरण भए बल्ल त्यसपछि सेजको अवस्था राम्रो हुन्छ । अहिले देशभित्र कहाँ नयाँ उद्योग आउन मानिरहेको छ ? उद्योग भन्ने बित्तिकै हामीले यो–यो सुविधा दिएका छौँ भनेर सरकारले बोल्न सक्नुपर्यो नि ! नयाँ उद्योग खोल्न विशेष सुविधा के छ ? निर्यात गर्यो भने यो–यो सुविधा छ भन्छ तर भुक्तानी प्रणाली त्यति सजिलो छैन । निर्यातमा पाउनुपर्ने सुविधा लिन धेरै झमेला छन् । त्यो पनि केही सीमित उद्योगीलाई मात्रै सुविधा छ, सबैलाई छैन । यत्रो सिमेन्ट र छड उद्योगलाई सघाउँदा सघाउँदै पनि किन टिक्न सकिरहेका छैनन् ? यसका अनेक कथा छन् ।
यसबाहेक सरकारले बैंकहरूको ब्याजदर ठेलेर १४/१५ प्रतिशत पुर्याइदिन्छ । १ वर्ष नबित्दै ८ प्रतिशतमा झारिदिन्छ । बैंकको ब्याज यति फास्ट माथि उक्लनु, फास्ट तल झर्नु भनेको आर्थिक क्षेत्रका लागि राम्रो लक्षण होइन ।
अब यस्तो अवस्थामा विशेष आर्थिक क्षेत्रको हकमा सरकारले आर्थिक क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरेर जानुपर्छ ।
हरेक दिन नयाँ–नयाँ फन्डा छ । सरकारले राजस्वमात्रै हेर्छ । व्यापार किन घट्यो भनेर कहिल्यै सोध्दैन । व्यापारीमाथि ठुलो आरोप छ– २ नम्बरबाट सामान मगाउन थालिस्, मूल्याङ्कन घटाइस्, भन्सार छली गरिस् भन्छ । सरकार यो कुरा स्विकार्न तयार छैन कि वास्तवमै व्यापार घटेको छ ।
नेपालको समग्र व्यापार नै घाटामा छ भनेर नेपाल सरकारले यथार्थ रूपमा यसलाई स्वीकार गर्दैन । सरकारलाई अहिले राजस्व उठेन भने कर्मचारीलाई के खान दिने भन्ने चिन्ता छ । सरकारले चिन्ता गरेर व्यापार बढाउन जोड दिनुपर्नेमा राजस्व बढाउन मात्रै जोड दिएको छ ।
अहिले व्यापारीहरू धमाधम पलायन भइरहेका छन् । धमाधम व्यापार बन्द गर्दैछन्, औद्योगिक उत्पादन घट्दै छ । भएका उद्योगहरूले पनि आफ्नो पुँजी खाली गर्न आईपीओ निकालिरहेका छन् । अहिले सिमेन्ट, छड, तेल, घिउ उद्योगहरू कुनै न कुनै कारणले त्रसित भएर आफ्नो लगानी खाली गर्ने चक्करमा लागेका छन् । त्यही भएर आईपीओ निकालेका हुन् ।
अब यस्तो अवस्थामा विशेष आर्थिक क्षेत्रको हकमा सरकारले आर्थिक क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरेर जानुपर्छ । औद्योगिक क्षेत्र हुँदा स्थानीय बजारलाई ध्यानमा राखेर उत्पादन गर्दछन् । निर्यात गर्ने उद्योगलाई थप सुविधा दिनुपर्छ । हेटौँडा औद्योगिक क्षेत्र, बालाजु औद्योगिक क्षेत्रमा कारखानामा चलिरहेकै छन् । सिमरा सेजको बाँकी बी, सी र डी ब्लकलाई औद्योगिक क्षेत्र घोषणा गरेर अगाडि बढ्नुस्, मेरो सुझाव र शुभकामना छ ।
(उद्योग वाणिज्य संघ, मधेस प्रदेशका पूर्वअध्यक्ष गणेश लाठसँग गरिएको कुराकानीमा आधारित ।)