वीरगंज । कृष्ण श्रीवास्तव । नेपालको तराई–मधेश क्षेत्र, विशेषतः सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, कैलाली, बाँके, सुनसरी, लगायतका जिल्लाहरू सीमावर्ती क्षेत्रमा पर्छन्। भारतसँग खुला सीमा रहेका यी भू–भागहरू आर्थिक, सामाजिक र सांस्कृतिक आदान–प्रदानको केन्द्र मात्रै होइनन्, लागुऔषधको प्रवेशद्वार पनि बन्न पुगेका छन्। पछिल्लो समय मधेसका किशोर–युवा पुस्ता विशेष गरी विद्यार्थीहरू लागुऔषधको जालोमा फसिरहेका छन्। यो अवस्था केवल स्वास्थ्य समस्या नभई सामाजिक, पारिवारिक र राष्ट्रिय संकटका रूपमा गहिरिँदै गएको छ।
२०७६ मा गरिएको लागुऔषध योग्यता सर्वेक्षणअनुसार नेपालमा करिब १ लाख ३० हजारभन्दा बढी व्यक्ति लागुऔषध प्रयोगकर्ता छन्। तीमध्ये ८९ प्रतिशत पुरुष हुन् भने महिलाको पनि उल्लेख्य संलग्नता छ। उमेर समूहको आधारमा हेर्दा १५ देखि २४ वर्षबीचका युवा सबैभन्दा बढी प्रभावित छन्। यो उमेर समूह प्रायः अध्ययनरत विद्यार्थी, काम खोज्ने उमेरका बेरोजगार वा नयाँ युवा नागरिक हुन्छन्। यिनैमध्ये अधिकांश मधेसी युवा पनि परेका छन्, जो सीमावर्ती जिल्लाहरूमा बसोबास गर्छन्। खुला सीमाका कारण लागुऔषध अत्यन्तै सहज रूपमा ती क्षेत्रमा भित्रिन्छ र बजार, पसल तथा साथीसँगीमार्फत युवासम्म पुग्छ।
सर्वेक्षणले देखाएको तथ्यमा ६७.७ प्रतिशत प्रयोगकर्ताहरूले साथीसँगीबाट लागुऔषध सेवन सुरु गरेको बताएका छन् भने अन्यले सडक किनार, औषधि पसल, इन्टरनेट वा अन्य माध्यमबाट हात पार्ने गरेका छन्। सस्तो मूल्य, सजिलो उपलब्धता र सामाजिक निगरानीको अभावले गर्दा मधेसी युवा यो दुर्व्यसनतर्फ आकर्षित भएका छन्। बिशेष गरी भारततिरबाट आउने ब्राउनसुगर, नाइट्राभेट, स्पास्मो, यावा ट्याब्लेटजस्ता खतरनाक लागुऔषधहरू सीमाबाट खुलेआम भित्रिन्छन् र युवा पुस्तामा छिटो फैलन्छन्।
लागुऔषधको लत लागेपछि युवाको जीवनमा अनेकौं नकारात्मक प्रभाव देखिन्छ। शारीरिक रूपमा हेर्दा हेपाटाइटिस, एचआइभी/एड्स, कुपोषण, शरीर कमजोर हुने, ओभरडोज भई मृत्यु समेत हुने अवस्थासम्म पुग्ने खतरा हुन्छ। मानसिक रूपमा उनीहरू डिप्रेसन, तनाव, आत्महत्या, अर्धचेत अवस्था, आक्रोश, तथा सामाजिक अलगावमा जान्छन्। अझ गम्भीर कुरा के भने लागुऔषध सेवनले गर्दा उनीहरू चोरी, हिंसा, झगडा, लुटपाट, बलात्कारजस्ता आपराधिक क्रियाकलापमा पनि संलग्न हुन सक्छन्।
शिक्षा क्षेत्रमा पनि यसले नराम्रो असर पारेको छ। विद्यालय तथा क्याम्पस पढ्ने विद्यार्थीहरूको उपस्थितिमा कमी, पढाइमा मन नलाग्ने, असामान्य व्यवहार, साथीहरूसँग टाढिनु, आर्थिक श्रोत जुटाउन चोरी गर्ने प्रवृत्तिको वृद्धि जस्ता समस्या व्यापक देखिन थालेका छन्। लागुऔषधले विद्यार्थीको भविष्य नै नष्ट पार्ने दिशामा अगाडि बढेको छ।
नेपालमा लागुऔषध नियन्त्रण ऐन २०३३ लागू भए पनि यसको प्रभावकारिता सीमित देखिएको छ। सीमामा सुरक्षाको कमजोरी, सुरक्षाकर्मीको लापरवाही, भ्रस्टाचार, स्थानीय निकायबीचको समन्वयको अभाव आदिले गर्दा लागूऔषधको अवैध ओसारपसार अझै रोकिएको छैन। प्रतिबन्ध त कानुनी रूपमा लागु छ, तर व्यवहारमा लागुऔषध खुलेआम बिक्री–वितरण भइरहेकै छ। यसले राज्यको नियमन क्षमतामाथि पनि प्रश्न उठाएको छ।
यस्ता समस्याको समाधानका लागि बहुपक्षीय प्रयास आवश्यक छ। एकातर्फ सीमामा सुरक्षा व्यवस्था कडा गरिनु जरुरी छ भने अर्कोतर्फ विद्यालय, क्याम्पस र समुदायमा लागुऔषधको विषयमा शिक्षा, सचेतना र व्यवहारिक तालिमहरू सञ्चालन गरिनुपर्छ। परिवारहरूले पनि आफ्ना सन्तानप्रति ध्यान दिनुपर्छ, साथीसँगीको निगरानी, असामान्य व्यवहारको पहिचान र सही समयमा सल्लाह वा उपचारमा लैजान सक्नुपर्छ। समाजले लागुऔषधमा फसेका युवालाई अपराधी होइन, रोगीको रूपमा हेरिनु जरुरी छ।
लागुऔषधले मधेसी युवाको जीवन रक्षात्मक होइन, विनाशकारी दिशामा डोर्याइरहेको छ। यदि यो प्रवृत्तिलाई अहिले नियन्त्रण गर्न सकिएन भने भोलि मधेस मात्र होइन, पुरै देशले यसको मूल्य चुकाउनुपर्नेछ। तसर्थ, लागुऔषधको समस्या समाधान गर्न परिवार, समाज, राज्य र सम्पूर्ण नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ। मधेसी युवालाई जीवनमा आशा, अवसर र उर्जाशीलता दिन सक्ने वातावरण बनाउनु नै दीर्घकालीन समाधान हो।