जनकपुरधाम | प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइर्भसनले राष्ट्रिय एकताको सन्देश दिएको बताएका छन् ।
मंगलबार मधेस प्रदेशसभामा विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओलीले टनेल ब्रेक थ्रु भएको एक वर्ष भएपनि बाँध नबाँधिँदा अहिलेसम्म सिँचाईको काम नभएको बताए । उनले भने, ‘अहिले टनेल छ तर के गर्ने टनेल देखाउने ? हामीलाई त पानी चाहिएको हो, त्यसैले हामीले फेरी प्रक्रिया बढाएका छौँ ।’
प्रधानमन्त्री ओलीले भने, ‘टनेलको काम पूरा गर, पावर हाउस तयार राख, मरिन नदिलाई नियन्त्रण गर्ने काम, बाँध्ने काम तुरन्त गर र नहर सिस्टमलाई शाखा प्रशाखासम्म चुस्तदुरुस्त राख’, उनले अगाडि भने, ‘पानी छोडेकै दिन सबै ठाउँमा पानी पुगोस र हामी त्यही सिजन खेती लगाउन सकौँ । त्यसले एक लाख ८५ हजार बिघा जमिनमा सिँचाई हुन्छ ।’
प्रधानमन्त्री ओलीले यस प्रदेशमा कृषिको सम्भावना रहेको र त्यसैका लागि यो परियोजना ल्याइएको बताए ।
मधेस र पहाडलाई केही मान्छेलाई विवादको विषय बनाएको भन्दै उनले सुनकोशी मरिन डाइभर्सनले राष्ट्रको एकताको भावना देखाएको बताए । उनले केही वर्षमै यो योजना तयार हुने बताए ।