चितवन | दैनिक करिब ४ सयभन्दा बढी भारतीय पर्यटकहरु आउने पर्साको ठोरी नाकास्थित अमृतधारा छोटी भन्सार कार्यालय तीन महिनादेखि बन्द छ ।
भारतको पश्चिम चम्पारणसहितका भागबाट ठोरीबाट चितवनको माडी हुँदै भरतपुर, पोखरा, काठमाडौं, लुम्बिनी जानका लागि भारतीय पर्यटकहरु आउने ठाेरी नाकाकाे भन्सार बन्द हुँदा देशकै तेस्रो पर्यटकीय केन्द्र चितवन सबैभन्दा बढी प्रभावित बनेको छ ।
गत वर्ष वैशाख १९ गतेदेखि सञ्चालनमा आएको ठाेरीकाे छाेटी भन्सार गत पुस १६ गते अचानक बन्द गरिएको थियो । भन्सार किन बन्द गरियो र कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने कुराको पत्तो यहाँका स्थानीयहरूले पाएका छैनन् ।
बिहारकाे पश्चिम चम्पारणमा करिब एक करोड बढी जनसंख्या छ । भारतीयहरु परिवार तथा साथीभाइसहित घुम्नका लागि आफ्नै सवारी साधनमा ठोरी, माडीका विभिन्न होटल होमस्टे, भरतपुरका पटिहानी, मेघौली, सौराहा जस्ता पर्यटकीय ठाउँहरुमा आउने गरेका थिए । तर, ठाेरी नाकाकाे भन्सार बन्द भएपछि वीरगन्ज वा भैरहवादेखि मात्रै आउनुपर्ने बाध्यता उनीहरुलाई परेको छ । गत वैशाखदेखि पुससम्म ठोरी नाका भएर हजारौं पर्यटकहरु माडी तथा भरतपुर आएका थिए ।
बुटवल–नारायणगढको बाटो बिग्रिएका कारण धेरै भारतीय पर्यटक ठोरी नाका भएर नेपाल आउने गर्दथे । दैनिक ५० जति साना गाडी र एक सय जति माेटरसाइकलमा भारतीयहरु आउने गरेको रेकर्ड सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयसँग छ । अहिले ठाेरी भन्सार बन्द हुँदा धेरै पर्यटकहरु निराश बनेर फर्किने गरेका छन् । जसको असर प्रत्यक्ष रुपमा माडीसहितको क्षेत्रमा परेको छ ।
ठोरीबाट ३५ किलोमिटरमा माडी आइपुगिन्छ । अहिले चितवन आउने पर्यटक कि त वीरगन्जबाट ५ घण्टा लगाएर वा भैरहवाबाट १० घण्टा लगाएर आउनुपर्ने बाध्यता छ ।
सरकारले ठाेरीमा भन्सार चलाउन भनेर सुविधासम्पन्न भवन पनि बनाएको छ । वीरगन्ज भन्सार कार्यालय मातहत राखेर सञ्चालन गरिएको ठाेरी भन्सार बन्द भएपछि भारतीय पर्यटकहरुको आवागमन रोकिएको छ । कहिले कर्मचारी नभएको त कहिले भन्सार नाका मर्ज गर्ने नीति भएको भन्दै यो नाका चलाउन सरकार उदासिन देखिएको छ ।
भारतीय सवारी प्रवेशको भन्सार प्रज्ञापत्र काट्ने काम रोकिएसँगै त्यसको मार यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायीमाथि परेको छ । ठोरी जंगल रिसोर्टका सञ्चालक सुदिप थापाले देशभित्र बाह्य पर्यटक बढाउन तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउन नाका सञ्चालन अनिवार्य भएको बताए । देशभित्र आर्थिक गतिविधि बढाउन पर्यटकहरुको ठूलो भूमिका हुने बताउँदै सञ्चालक थापाले ठाेरी भन्सार बन्द हुँदा त्यसको सिधा असर होटल, होमस्टे तथा पर्यटन व्यवसायमा परेको गुनासो गरे ।
उनले ठोरी नाकाकाे भन्सार सञ्चालन हुन नदिन ठूलै गिरोह लागिपरेको आशंकासमेत गरे । ‘देशभित्र पर्यटक बढाउने भन्ने र अनि भएको चलेको नाका बन्द गर्ने नीति लिने ? यसरी पनि देशको पर्यटन क्षेत्र उभो लाग्ने देख्दिनँ’ थापाले भने, ‘पर्यटकलाई कसरी सहज बनाउने भन्ने तिर राज्य लाग्नुपर्छ, पैसा खर्च गरेर दुःख पाउन को आउँछ घुम्न ?’
भन्सार सञ्चालन भएको ८ महिनामा ठाेरी नाकाबाट १० लाख बढी राजश्व संकलन भएको थियो भने, डेढ लाख भारतीय पर्यटक नेपाल भित्रिएका थिए । मध्य बर्षाको समयमा समेत उल्लेख्य पर्यटक आएको होटल व्यवसायीहरुको धारणा छ ।
नेपाली रेष्टुरेन्टमा भारतीय पर्यटकलाई ठोरीसम्म आउन कुनै समस्या छैन । तर, ठोरी कटेर माडी र भरतपुर आउन भने अनिवार्य रुपमा सवारी प्रवेशको भन्सार प्रज्ञापत्र चाहिन्छ । ठोरीबाट चितवन जान पाइन्छ भने खासै प्रचारप्रसार र हल्लाखल्ला नहुँदा नै राम्रो भारतीय पर्यटक आएका थिए । माडीको अयोध्याधाम, राम मन्दिर, सोमेश्वर गढी घुम्न पनि भारतीय पर्यटक आउने गरेका थिए । जसले गर्दा भारतमा समेत नेपालका धार्मिक ठाउँबारे प्रचारप्रसार सहज भएको थियो ।
ठोरीसँग सिमाना जोडिएको भारततर्फको भिखना ठोरीमा भन्सार कार्यालय छैन । तर नेपालले एकतर्फी रुपमा भन्सार चलाउन सक्छ ।ठोरीमा भन्सार कार्यालय सञ्चालनमा आएपछि राजस्व चुहावटसमेत रोकिएको थियो ।
तर अब भन्सार नै बन्द भएपछि ठोरी भएर प्रवेश गर्ने सवारी साधनलाई भन्सार तिर्न वीरगन्ज पुग्नुपर्ने बाध्यता थपिएको छ । जसले पर्यटकहरुलाई हैरानीबाहेक केही दिँदैन।
चितवनको माडीमा रहेको माडी भिलेज रिसोर्टका सञ्चालक आर्यन चौधरीले नाका बन्द भएपछि भारतीय पर्यटकको आवागमन नै ठप्प जस्तै भएको सुनाए । पहिला दिनमा ३/४ वटा स्कारपियो लिएर दैनिकजसो भारतीय पर्यटक उनको गरेको स्मरण गर्दै चौधरीले भने, ‘अहिले त ठप्प जस्तै छ, केहीकेही वीरगन्जबाट आएका छन्, अरु छैनन् ।’
१५ वटा कोठा रहेको उनको रिसोर्टमा एक रातमा ३५ जनासम्म अटाउन सक्छन् । उनको रिसोर्टमा पहिले दैनिक २० जना त भारतीय नै हुन्थे । नाका बन्द भएपछि दैनिक ३० हजार रुपमा नोक्सान भएको उनको भनाइ छ ।
‘ठोरीबाट छोटो दूरी थियो, आइहाल्थे, प्रचारप्रसार पनि गरेका थिए, संख्या थपिदै गएको थियो,’ सञ्चालक चौधरीले भने, ‘चैते दसैं मेलामा झन् भिड लाग्थ्यो, मानिसहरु सोमेश्वरको डाँडाबाट हिँडेर आएका छन् अहिले । नाका चलाउँदा पर्यटन चल्छ भने सरकारले यसबारे किन नसोच्ने ? गरेर खान त दिनुपर्यो नि ।’
नौ महिना नाका खुल्दा १० लाख बढी राजश्व संकलन ठाेरी भन्सार कार्यालयले गरेको थियो । ११ सयभन्दा बढी भारतीय सवारी भरतपुर आएको र उनीहरुले लाखौं रकम खर्च गरेको अनुमान छ ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले गत वर्ष जनवरी १ देखि डिसेम्बरसम्म मात्रै ठाेरी भन्सार कार्यालय सञ्चालनको अनुमति भएको तर त्यसपछि नवीकरण नहुँदा सञ्चालनमा आउन नसकेको बताए ।
मन्त्रालयले चलाउने भन्ने निर्णय गरेमा आफूहरु तयार नै रहेको उनको भनाइ छ । उनले सञ्चालन स्वीकृतीका लागि रायसमेत पेश गरेको बताए । अहिले पनि एक जना नायव सुब्वा र एक जना कार्यालय सहभागी ठाेरी भन्सार कार्यालयमा राखिएको उनले जानकारी दिए ।
ठाेरी भन्सार कार्यालयका अनुसार गत वैशाख १९ देखि पुस १६ गतेसम्म भारतीय सवारीको अस्थायी पैठारी बापत १० लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
पालिका प्रमुखहरु भन्छन्– भारतीय सवारीको प्रवेश प्रज्ञानपत्र काट्नुपर्छ
सरकारले ठोरी भन्सारबाट आउने भारतीय सवारीको प्रवेश प्रज्ञापत्र नकाट त्यसको सिधा असर ठोरी तथा चितवनको पर्यटन क्षेत्रमा परेको यस क्षेत्रका पालिका प्रमुखहरुले बताएका छन् ।
चितवनको माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले ठोरीबाट भारतीय सवारीको प्रवेश प्रज्ञापत्र जारी हुनुपर्ने आफूहरुको स्पष्ट माग रहेको बताइन् । ‘भारतीय पर्यटकहरु आएर यहाँको स्थनीय पर्यटन र बजार चलेको छ, भने त्यसलाई रोक्नुपर्ने कारण के छ ?’ महतोले भनिन्, ‘बर्खाको समयमा भने भारतीय पर्यटकहरु माडी भरतपुरसम्म आएका थिए, रुट पनि छोटो छ ।’
उनले भारतीय पर्यटकहरुका कारणले चितवन राष्ट्रिय निकुञ्जमा पनि सकारात्मक प्रभाव परेको बताइन् । उनले काठमाडौं गएर अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेर ठोरी नाकाकाे भन्सार पुनः सञ्चालनका लागि कुरा राखेको जानकारी दिइन् । अर्थमन्त्रीले ठाेरीकाे भन्सार पुनः सञ्चालनबारे सल्लाह गरेर एउटा निचोडमा पुग्ने जानकारी गराएको महतोले बताइन् ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठाेरी नाकाकाे भन्सार बन्द हुँदा ठोरी झनै पछाडि परेको महसुस आफूहरुले गरेको बताए । ‘एकाएक नाकाकाे भन्सार बन्द भयो, यसको असर सबैतिर परेको छ, काठमाडौं गएर पनि पुनः सञ्चालनका लागि कुरा गरेका छौं, मलाई त सरकारले चलाउँछ जस्तो लागेको छैन’ पालिका अध्यक्ष श्रेष्ठले भने, ‘भारतीय पर्यटक बढाउनका लागि सवारीको मात्रै भने पनि प्रवेश प्रज्ञानपत्र काट्नुपर्छ ।’
उनले ठाेरी नाकाकाे भन्सार चल्दा भारतीय पर्यटकहरूको संख्या निकै बढ्ने र त्यसको फाइदा नेपाललाई नै हुने बताए ।अनलाइनखबर