काठमाडौं । आज देशभर ‘विश्व स्वास्थ्य दिवस’ मनाइँदैछ। ‘स्वस्थ सुरुवात, आशावादी भविष्य’ भन्ने नारासहित यो वर्षको दिवस मातृ तथा नवजात शिशुको स्वास्थ्यमा केन्द्रित गरिएको छ ।
हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य संगठन (WHO) को स्थापना दिवसको अवसरमा विश्व स्वास्थ्य दिवस मनाइन्छ । दिवसले सबैका लागि गुणस्तरीय, सुरक्षित र पहुँच योग्य स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य बोकेको छ ।
यस वर्ष विश्व स्वास्थ्य संगठनले मातृ र नवजात शिशु मृत्यु दर घटाउने तथा महिलाको दीर्घकालीन स्वास्थ्य सुधार गर्ने लक्ष्यसहित एक वर्षे अभियान सुरु गरेको छ ।
संस्थाका अनुसार हरेक वर्ष विश्वभर करिब ३ लाख महिलाको गर्भावस्था वा सुत्केरीका क्रममा मृत्यु हुन्छ भने २० लाखभन्दा बढी नवजात शिशु जन्मेको एक महिनामै ज्यान गुमाउँछन् । करिब २० लाख थप शिशु मृत जन्मिने गरेका छन् ।
नेपाल सरकारले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा नवजात मृत्युदर १२ र २०३५ सम्ममा १० मा झार्ने लक्ष्य लिएको छ । हाल आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ रहेको छ, भने एक वर्षभित्र मृत्यु हुने शिशुको दर २८ रहेको छ ।
दिवसका अवसरमा देशभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदैछन्, जसले सुरक्षित मातृत्व, बाल स्वास्थ्य र सबैका लागि समावेशी स्वास्थ्य सेवाप्रति जागरुकता फैलाउने अपेक्षा गरिएको छ ।