काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रवारको प्रदर्शनपछि पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, अधिवक्ता स्वागत नेपाललाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ।
शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मिश्र, राणा र नेपाललाई बिनासर्त २४ घण्टाभित्र रहा गर्न सरकारलाई अल्टिमेटम दिएको हो।
उनीहरूलाई रिहा नगरे राप्रपाले विरोध प्रदर्शन गर्ने निर्णय भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
उनले पत्रकार सुरेश रजकलाई बचाउनसक्ने प्रशस्त सम्भावना हुँदा पनि सरकार उदासिन बनेको आरोप लगाए। उनले घटनाको निष्पक्ष छानबिनका लागि निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरे।
शुक्रवारको घटनालाई लिएर पूर्वराजा शाहलाई राजनीतिमा तान्ने काम भएको भन्दै त्यसलाई रोक्न आग्रह गरे।
बैठकले आन्दोलनका क्रममा निधन भएका सुरेश रजक र सविन महर्जनलाई शहीद घोषणा गर्न र उचित क्षतिपूर्ति दिन माग गर्ने निर्णय गरेको छ।