काठमाडौं । बत्तीसपुतलीमा रहेको बालाजी इम्पोर्ट प्रालिको कार्यालयमा तीन साताअघि जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतको गौशाला प्रहरीको टोली एकाएक प्रवेश गर्यो ।
कार्यालयमा हुण्डी कारोबार हुने गरेको सूचना सहित अपराह्न साढे २ बजेतिर छिरेको प्रहरीले केहीबेरमै सञ्चालक भेषराज पाण्डे, वसन्तकुमार राठी, प्रनिश थापा र सुरेश अधिकारीलाई नियन्त्रणमा लियो ।
र, खानतलासी सुरु गर्यो । सोफामा बसेका प्रनिशको ज्याकेटको गोजीमा अढाइ लाख, भित्र बसेका सुरेशको बायाँ खल्तीमा ७ लाख ६० हजार, कोठाको दक्षिण पूर्वतर्फ रहेको कुर्सीमा बसेका राठीको टेबुलको घर्रामा १४ लाख १५ हजार रुपैयाँ गरेर जम्मा २६ लाख ५० हजार रुपैयाँ बरामद भयो ।
अधिकृतहरूका अनुसार, प्रारम्भिक सोधपुछका क्रममा त्यो रकम हुण्डी कारोबारको भएको देखिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गर्यो । पक्राउ परेका भारतीय नागरिक राठीले प्रहरीसमक्ष बयान दिने क्रममा नयाँदिल्लीमा कपडा व्यवसाय गर्ने एक जना साथीले बोलाएपछि नेपाल आएको बताए ।
‘साथीले व्यापार व्यवसायको क्रममा नेपालीबाट लिएको पैसा संकलन गरेको र छिट्टै भारत फर्किन लागेको भनेको थियो’ उनले भनेका छन्, ‘मेरो क्यासिनो खेल्ने बानी रहेकाले नेपालमा क्यासिनो खेल्न धेरै रकम आवश्यक पर्ने हुँदा मैले उनलाई नेपाली पैसा मलाई छाडिजाऊ, म भारत फर्किएपछि फिर्ता गर्छु भनेको थिएँ ।’
त्यही सहमति अनुसार १४ लाख नगद र ७ लाख ६० हजार बराबरको चेक समेत आफ्नो नाममा काटिदिएको उनको भनाइ थियो । ‘चेक कसको हो, मलाई थाहा छैन, मैले त्यो पैसा होटलको रुममा नै सञ्चय गरेर राखेको थिएँ’ उनले अगाडि भने, ‘३ पुसमा प्रनेशले मलाई ह्वाट्स एपमा फोन गरेर छोरीको आँखामा समस्या छ, जाँच गर्न भारतको मेदान्त अस्पताल जानुपर्नेछ, त्यसका लागि तपाईंसँग भेट गरेर कुरा गर्नुछ भनेपछि मैले बालाजी इम्पोर्टमा बोलाएको थिएँ ।’
कम्पनीका सञ्चालक पाण्डेका अनुसार, उनले ८ वर्षदेखि बालाजी इम्पोर्ट मार्फत हार्डवेयरका सामानहरू भारत र चीनबाट होलसेलमा आयात गरेर देशभरि बिक्री गर्ने गरेका थिए । ‘यसरी विदेशबाट सरसामानहरू आयात गरी त्यसबापतको रकम बैंकिङ माध्यमबाट एलसी र टीटी मार्फत सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा पठाउने गरेको थिएँ’, उनले भनेका छन् ।
तर, उनले निश्चित रकम बैंकिङ च्यानलबाट पठाए पनि ‘लो इन्भोइसिङ’ गरेर कतिपय रकम हुण्डी मार्फत पठाएको हुनसक्ने अधिकृतहरूको शंका छ । ‘धेरै व्यवसायीले भन्सारमा लाग्ने कर छल्न कम बिलिङ गर्ने र हुण्डी गर्छन् भन्ने कुरा खुला सत्य हो’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् ।
यद्यपि, काठमाडौं प्रहरीले मुद्दा दायर गर्दा राठी र थापालाई मात्रै प्रतिवादी बनायो, अधिकारी र पाण्डेले इन्कारी बयान दिएको भन्दै उनीहरूबाट बरामद रकम व्यापारबाट संकलित हुनसक्ने भन्दै मुद्दा नचलाउने निर्णय गर्यो ।
____________
गौर नगरपालिका–१, राइस मिल नजिकबाट वीरेन्द्रकुमार जयसवाल ८ मंसिरमा गौर बजारतर्फ हिंडेर जाँदैथिए, प्रहरीले रोक्यो । प्रहरीको भनाइमा, शंका लागेर जाँच गर्दा उनको दाहिने पट्टि तिघ्रा र कम्मरको भागमा लुकाएर राखेको अवस्थामा ६ लाख रुपैयाँ भेटियो ।
पक्राउ परेपछि प्रहरीसँग बयान दिने क्रममा उनले आफू ३ वर्षअघि काम छाडेर बेरोजगार भएर बसिरहेका बेला भारतीय नागरिक वीरेन्द्र साह तेलीले एउटा काम दिएको बताए ।
‘उनी बैरगनिया बजारमा होलसेल किराना पसल चलाउँदै आएका थिए, त्यहाँबाट सामान ल्याएर गौर बजारमा रहेको किराना पसलमा बिक्री गर्थें’ उनले भनेका छन्, ‘तर, उनीसँग काम गरेको ५/६ महिनापछि तेलीले मैले भनेको काम गर्नुहुन्छ भने तपाईंले यति धेरै मिहिनेत गर्नुपर्दैन, बढी रकम पनि कमाइ हुन्छ भनेका थिए ।’
तेलीले उनलाई ‘मेरो मानिसले तपाईंलाई नेपाली रकम दिन्छन्, उनीहरू नभएको बेला तपाईंले कहिलेकाहीं आफैंले लिन आउनुपर्छ’ भनेका थिए । त्यो पैसालाई जयसवालको ह्वाट्स एपमा आउने नेपाली बैंकका नाम र खाता नम्बरमा पठाउनुपर्ने उनलाई भनिएको थियो ।
‘ती खाताहरूमा १ लाख रुपैयाँ पठाइदिए वापत ३०० रुपैयाँका दरले रकम दिन्छु भनेका थिए’ जयसवालले प्रहरीलाई भनेका छन्, ‘मैले कस्तो रकम हो भनेर सोध्दा तेलीले मलेसिया, कतार, दुबई, साउदी अरबियामा काम गर्ने मानिसहरूले कमाएको रकम हो भनेका थिए ।’
विदेशबाट नेपालमा सीधै पठाउँदा कर बढी लाग्ने भएकाले उनीहरूले आफूलाई पठाउने भनेर तेलीले भनेको जयसवालले खुलाएका छन् । ‘त्यसपछि मैले सहमति बनाएर काम गर्न थालेको थिएँ, पछि मलाई प्रत्येक चोटि फरकफरक मानिसहरूले ५/७ दिन बिराएर त कहिलेकाहीं ५/६ लाख रुपैयाँको दरले रकम ल्याएर दिने गर्थे’ उनले भनेका छन्, ‘पैसा तेलीले भने अनुसारको खातामा जम्मा गरेर म उनको ह्वाट्स एपमा भौचर पठाइदिने गर्थें ।’
____________
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३ असारमा बाराको पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुणकुमार यादवलाई पक्राउ गर्यो ।
सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेका बेला समातिएका यादवमाथि तस्करीको रकम भुक्तानी गर्ने प्रक्रियामा संलग्न रहेको आरोप थियो । उनी पेवेल र सजिलो पे नामक अनलाइन भुक्तानी सेवाका बारा एजेन्ट हुन् ।
यो सेवा मार्फत उनले एक वर्षमा १ अर्ब २० करोड ४२ लाख रुपैयाँ कारोबार गरेको देखिएको ब्यूरोका एसपी होविन्द्र बोगटी बताउँछन् । त्यसरी कारोबार भएको पैसा तस्करी भएर आएको सुन खरिद गर्न प्रयोग भएको हुनसक्ने आशंका अधिकृतहरूको थियो ।
प्रहरीले उनलाई समात्नुअघि पेवेलका एजेन्ट रहेका बुटवलस्थित जेके मनी ट्रान्सफरका सञ्चालक लालबहादुर कुँवरलाई पक्राउ गरेको थियो । पछि प्रहरीले पेवेल र सजिलो पेका थप कर्मचारीहरूलाई पनि नियन्त्रणमा लियो ।
अनुसन्धानमा संलग्न सीआईबी अधिकृतहरूका अनुसार, सुन तस्करीमा जोडिएका पिन्टु भनिने अभिजित तानाजी मुलिकको जागेश्वरी ज्वेलर्सको नाममा सञ्चालन रहेको पसलमा खानतलासी गर्दा २० वैशाख २०८० मा पेवेल नेपालका विभिन्न खाताहरूमा ९८ लाख रुपैयाँ जम्मा गरेको भौचरहरू बरामद भएको थियो ।
प्रहरीका अनुसार, आरोपी सिद्धार्थ अशोक गायकवाडको मोबाइल जाँच गर्दा पनि पेवेलको खाता नम्बरहरू देखिएको थियो । उनले बयानका क्रममा सुनको कारोबारमा आवश्यक क्रिप्टो दिएबापत नगद पैसा पेवेल मार्फत भुक्तानी हुने गरेको खुलाएका थिए ।
‘यो घटनाले पहिले भौतिक नोटको आदानप्रदान गरेर हुने हुण्डी कारोबार अहिले डिजिटल्ली हुन थालेको देखाएको थियो’ बोगटी थप्छन्, ‘सुन लगायत तस्करी हुने चिजवस्तुको खरिदमा यसको प्रयोग हुनु झनै गम्भीर विषय हो ।’
आतङ्कवादसँग हुण्डीको साइनो
यी घटनाहरूले कसरी व्यापारिक कारोबार, वैदेशिक रोजगारीमा जानेहरूबाट आउने रमिट्यान्स र तस्करीमा अवैध हुण्डी कारोबार जोडिइरहेको छ भन्ने देखाउँछन् ।
जानकारहरूका अनुसार, औपचारिक बैंकिङ च्यानललाई बाइपास गरेर हुने यो कारोबार जुनसुकै व्यवसायमा रहेकाहरू र वैदेशिक रोजगारीमा गएका नेपालीमाझ सामान्य जस्तो बन्न थालेको छ ।
आजभोलि त हुण्डीको स्वरुप परिवर्तन भएर यसमा डिजिटल कारोबार पनि हुन थालेको छ ।
पछिल्ला समय मात्रै हुण्डीबारे औपचारिक रूपमा बहस हुन थाले पनि यसको इतिहास भने निकै पुरानो छ । हुण्डी कारोबारबारे शोध गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरेका भनाइमा, रेमिट्यान्सको अवधारणा आउनु अगावै हुण्डी कारोबार प्रचलनमा रहेको देखिन्छ ।
‘पहिले तिब्बत, भारत र नेपालबीच ‘ट्रान्स हिमालय ट्रेड’ भनेर जुन व्यापारिक रुट चलनमा थियो, त्यसबेला पनि हुण्डीका अभ्यासहरू हुन्थे’ घिमिरेले भने, ‘त्यसैले औपचारिक प्रणालीले नचिन्ने, तर कारोबार भइरहने एउटा पुरानो प्रणाली हुण्डी हो ।’
हुण्डी कारोबार विश्वासका आधारमा निश्चित सञ्जालभित्र चल्ने कुरा यसका कतिपय विवरण बाहिर आउँदैनन् । बेलाबखत अहिले कारोबारीबीच लेनदेन नमिल्दा प्रहरीसम्म सूचना पुग्छन् भने आक्कलझुक्कल प्रहरी जाँचमा पनि हुण्डी कारोबारको रकम समातिने गर्छ ।
‘मैले २०४६ सालमा प्रहरी सेवामा प्रवेश गर्दा सुनको कारोबार र अन्य ठूलो व्यवसाय गर्नेहरूले हुण्डी कारोबार गर्छन् भन्ने पहिलो पटक सुनेको थिएँ’, नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की भन्छन्, ‘यद्यपि, त्यसबेला अहिले जस्तो हुण्डी कारोबारलाई अपराध मानेर गम्भीरता देखाउने गरिंदैनथ्यो ।’
सन् १९९० पछि दक्षिणएशियासँगै विश्वका अन्य मुलुकहरूमा आतंकवादी गतिविधि बढ्न थाले । त्यसयता आतंकवादी गतिविधिमा हुने लगानीको विषयले दुनियाँभर चर्चा पाउन थाले ।
‘आतंकवादी गतिविधिले मुलुकहरू आक्रान्त हुन थालेपछि यो विषय संयुक्त राष्ट्रसंघको तहमा छलफल हुन थाल्यो’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वनिर्देशक समेत रहेका उनी भन्छन्, ‘विभिन्न मुलुकहरू एकआपसमा मिलेर अन्तरक्रिया गर्न थाले । त्यसपछि आतंकवादको हुण्डी कारोबारसँग सिधा सम्बन्ध रहेको कुरा ठूला फोरमहरूमा बहसको विषय बन्न थाल्यो ।’
भारतमा ९० को दशकमा ठूल्ठूला आतंकवादी हमला र शृंखलाबद्ध विस्फोटका घटनाहरू भइरहेका थिए । छिमेकमा भएका यी गतिविधिबाट नेपाल पनि प्रभावित नहुने कुरै भएन ।
‘यसरी जब हुण्डी कारोबारको विषय आतंकवादको लगानीसँग पनि जोडियो, नेपालले यसलाई थप गम्भीरताका साथ लिन थाल्यो’ उनले भने, ‘त्यसो त पहिलो विश्वयुद्धताका पनि इटालियनहरूले माफिया मार्फत संगठित अपराध गरेर रकम आर्जन गर्ने र त्यसको पेमेन्टका लागि हुण्डीलाई प्रयोग गर्थे भनिन्छ ।’
उनका भनाइमा, यसरी एकातिर आतंकवादलाई जोडेर अनौपचारिक कारोबारबारे अन्तर्राष्ट्रिय प्रतिबद्धता अर्कातिर यसले देशकै अर्थतन्त्रलाई पनि घाटा पनि पुर्याइरहेको थियो । त्यसैले यसमा राज्य संयन्त्रको गम्भीरता देखिन थालेको हो ।
२०४६ सालको परिवर्तन र २०६२/६३ को क्रान्तिपछि वैदेशिक रोजगारीमा जाने क्रम ह्वात्तै बढेसँगै हुण्डीको प्रयोग तीव्र रूपमा बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, सन् १९९३ मा नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा १.५ प्रतिशत थियो । तर, सन् २०१५ मा आइपुग्दा यो बढेर २७.६ प्रतिशत पुगेको छ । विज्ञहरूका भनाइमा, बढ्दो रेमिट्यान्ससँगै हुण्डी कारोबार पनि बढिरहेको छ ।
नेपाल राष्ट्र बैंकले २०७३ सालमा गरेको एक अध्ययनले विदेशबाट आउने रेमिट्यान्सको ५.९ प्रतिशत हुण्डी मार्फत नेपालमा भित्रिने गरेको उल्लेख छ । वैदेशिक रोजगारीका लागि गएका नेपालीले आर्जन गरेको नगद साथीभाइ वा हुण्डी मार्फत स्वदेशमा पठाउने गरेका कारण विप्रेषणको आँकडा समेत यथार्थपरक हुन नसकेको अर्को प्रतिवेदनमा उल्लेख छ ।
तर, २०७४ सालमा संसद्को अर्थ समिति बैठकमा भएको छलफलमा रेमिट्यान्स कम्पनी आईएमईका सञ्चालक चन्द्र ढकालले विदेशबाट आउने रेमिट्यान्सको करिब ३० प्रतिशत अवैध बाटोबाट फर्किने गरेको बताएका थिए । ‘अहिले वर्षमा करिब ७ अर्ब रेमिट्यान्स वैधानिक रूपमा भित्रिए पनि झण्डै २ अर्ब १० करोड रुपैयाँ अवैध रूपमा आउने गरेको छ’, त्यसबेला उनले भनेका थिए ।
तर, नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेल हुण्डी कारोबार विशुद्ध अनौपचारिक च्यानल मार्फत हुने भएकाले यस्तो कारोबारको यकिन अंक भन्नै नसकिने बताउँछन् । ‘विदेशमा भएका कर्मचारी, उनीहरूको अनुमानित आम्दानी र नेपालमा भित्रिइरहेको रेमिट्यान्ससँग भिडाएर एउटा विवरण त निकाल्न सकिएला’ उनले अनलाइनखबरसँग भने, ‘तर, त्यो शतप्रतिशत भन्ने हुँदैन ।’
राष्ट्र बैंकले हुण्डी कारोबारलाई अवैध मानेकाले त्यसबारेमै केन्द्रित रहेर छुट्टै अध्ययन नभएको उनी बताउँछन् । उनले थपे, ‘बरु रेमिट्यान्सका अन्य विषयमा भएका अध्ययनका क्रममा यी विषय पनि आएका छन् ।’
नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने काठमाडौं उपत्यका र सीमा जोडिएका स्थानहरूमा हुण्डीको बढी कारोबार हुने गरेको देखिन्छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा काठमाडौं उपत्यकामा मात्र हुण्डी कारोबारको ४३ करोड १४ हजार १५ रुपैयाँ बरामद भएको थियो भने मधेशमा ७३ लाख र लुम्बिनीमा ११ करोड ९७ लाख ६ हजार ६४० रुपैयाँ बरामद भएको थियो ।
प्रहरीका अनुसन्धान अधिकृतहरूका अनुसार, अहिले नेपालमा हुण्डी कारोबारमा दुई किसिमको प्रवृत्ति देखिन्छ । ‘एउटा वैदेशिक रोजगारीमा गएका आम नागरिकले आफ्नो देशमा पैसा पठाउन हुण्डी प्रयोग गरिरहेका छन्’ गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा लामो समय काम गरेका पूर्वप्रहरी निरीक्षक दिपेन्द्र अधिकारी भन्छन्, ‘अर्को व्यवसायीहरूले कर छली गर्न पनि हुण्डी प्रयोग गरिरहेका छन् ।’
वैदेशिक रोजगारीमा गएर पैसा कमाउनेहरू हुण्डी कारोबारीसँग काम गर्दा हुने निश्चित प्रतिशत रकमको फाइदासँग लोभिन्छन् । ‘तर, यो प्रतिशतको कुरा मात्रै होइन, हुण्डी मार्फत रकम पठाउन सजिलो पनि हुने भयो, विदा नै लिएर बैंकिङ प्रणालीसम्म पुग्नु परेन’ उनले थपे, ‘घरमा पनि कागजात, हस्ताक्षर वा निश्चित ठाउँसम्म पुग्नुपर्ने झन्झट हुने भएन, त्यसैले वैदेशिक रोजगारीमा गएकाहरू हुण्डी गरेर पैसा पठाउन सजिलो मानिरहेका छन् ।’
धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका र तिनका परिवारहरूसँग सम्पर्क गरेर नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा सहभागीहरूले औपचारिक माध्यमभन्दा हुण्डी मार्फत रकम पठाउन सहज हुने बताएका थिए । ‘यस्तो अवस्थामा हुण्डी मार्फत रकम पठाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने कदमहरू चाल्नुपर्ने देखिन्छ’, अध्ययन प्रतिवेदनमा भनिएको छ ।
एकातिर वैदेशिक रोजगारीमा जानेहरूले औपचारिक च्यानलबाट कारोबार नगर्दा देशले विदेशी मुद्रा गुमाइरहेको छ भने अर्कातिर वैदेशिक रोजगारीमा गएकाहरूले कमाएको पैसा आपराधिक संगठन, लागूऔषध कारोबारी र तस्करीमा संलग्नहरूसँग समेत पुगिरहेको छ ।
‘हुण्डी लागूऔषध र सुन तस्करीसँग पनि जोडिएको विषय हो, यदि जर्मनीमा चरेस गयो भने स्थानीय मुद्रामा त्यहाँ पेमेन्ट हुन्छ, हुण्डी मार्फत यहाँ नेपालीमा पेमेन्ट हुन्छ’ लागूऔषध नियन्त्रण ब्यूरोमा लामो समय काम गरेका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘त्यसैले हुण्डीमा झट्ट हेर्दा जस्तो लेनदेन मात्र छैन, यसमा विविध आयाम छन् ।’
वैदेशिक रोजगारीमा गएर वैधानिक रूपमा कमाएको पैसा उनीहरूको परिवारले स्वदेशमा सहजै पाइरहेका त छन्, तर विदेशी मुद्रा चाहिं मुलुकको ढुकुटीमा आएको छैन । ‘एक जना श्रमिकलाई घरमा पैसा पठाउन सहज भए पनि त्यसले दूरगामी रूपमा नराम्रो असर पारेको छ’, सीआईबीका पूर्वनिर्देशक कार्की पनि भन्छन् ।
हुण्डी कारोबार मौलाउनुको दोस्रो कारण भनेको यसमा व्यवसायीहरूको स्वार्थ जोडिएको छ । जस्तै, नेपालबाट तेस्रो मुलुकको सुपारी भारतमा लैजान प्रतिबन्ध छ । तर, नेपाल प्रहरीले भारत लैजान लागेको अवैध सुपारी बरामद गरिराख्छ । सुपारी खरिदका लागि विदेशमा आवश्यक पर्ने पैसा नेपालबाट एलसी (लेटर अफ क्रेडिट) खोलेर पठाउन सकिन्न ।
त्यसैले यसमा हुण्डीको प्रयोग भइरहेको हुन्छ । सुन तस्करीमा पनि त्यही प्रवृत्ति देखिन्छ । व्यवसायीले कर छलीका लागि पनि हुण्डीको प्रयोग गर्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन् । कतिपय जानकारहरू वैदेशिक रोजगारीमा रहेकाहरूले स्वदेशमा हुण्डी मार्फत पैसा पठाउने चलन लाहुरेहरूबाट सुरु भएको पनि बताउँछन् ।
धरान, पोखरा, बुटवल जस्ता व्यापारिक शहरमा लाहुरेहरूको बढी बसोबास हुन्थ्यो र उनीहरूको स्थानीय व्यवसायीसँग राम्रो चिनजान थियो । ‘व्यवसायीलाई विदेशबाट महँगा सामानहरू ल्याउनुपर्ने हुन्थ्यो, तर विदेश पैसा पठाउन एकदमै कठिन थियो’ एक प्रहरी अधिकृतले भने, ‘त्यस्तोमा लाहुरेलाई निश्चित प्रतिशत दिएर व्यवसायीले सामानको पैसा तिर्थे भने घरमा परिवारलाई नेपाली पैसा तिरिदिन्थे ।’
गएको भदौ महिनामा मात्र हुण्डी कारोबारमा संलग्न सिंगापुर प्रहरीको गोर्खा कन्टिन्जेन्टमा कार्यरत पाँच जना नेपालीलाई जेल सजाय सुनाइएको थियो । उनीहरूमाथि १ लाखदेखि २८ लाख सिंगापुर डलर अवैध रूपमा नेपाल पठाएको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको थियो ।
सिंगापुरको अंग्रेजी दैनिक पत्रिका द स्ट्रेट्स टाइम्सका अनुसार, जेल सजाय हुनेमा दिकबहादुर गुरुङ (३२), गंगाप्रसाद राई (४३), अशोककुमार थापा मगर (३९), मिङ्मार शेर्पा (४४) र सीताराम तामाङ (४०) छन् । उनीहरूमध्ये दिकबहादुरलाई कम्तीमा १० लाख सिंगापुर डलर अवैध रूपमा पठाएको आरोपमा १४ हप्ता जेल सजाय भएको थियो ।
गंगाप्रसादलाई ६ लाख पठाएको आरोपमा १० हप्ता जेल सजाय भएको थियो । यसले लाहुरमा जाने नेपालीकै सानो समूहले पनि हुण्डी कारोबारको काम गरिरहेको समेत देखाउँछ ।
‘राज्यको नीति नै जिम्मेवार’
त्रिविका उपप्राध्यापक घिमिरेका अनुसार, पछिल्लो समय एउटा समुदाय व्यक्ति परिवारै सरेर अष्ट्रेलिया, अमेरिकातिर जाने प्रवृत्ति देखिइरहेको छ । उनीहरूले वैधानिक च्यानलबाट रकम पठाउन सक्दैनन् र त्यसका लागि हुण्डीको प्रयोग गरिरहेका छन् ।
कतिसम्म भने नेपालमा भ्रष्टाचार मामलामा अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई स्वयम्ले संसदीय समितिमा गएर घुसको अन्तर्राष्ट्रियकरण भइसकेको बताएका छन् । र, उनले त्यो पैसा हुण्डी मार्फत विदेशमा भएका आफन्तसमक्ष पुगिरहेको संकेत गरेका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा २४ असोजमा पुगेका राईले ठूलो कारोबार सिंगापुर, हङकङ र दुबईमा हुने गरेको भनेका छन् । ती रकम हुण्डी मार्फत त्यहाँ पुग्ने गरेका छन् ।
अख्तियारका विवादास्पद प्रमुख लोकमानसिंह कार्कीले पनि विगतमा संसदीय समितिमा नेपालबाट आर्जित अवैध पैसा आफ्ना मान्छेलाई विदेशमा पठाइने गरिएको बताएका थिए ।
तर, आयोगबाट बहिर्गमित भएपछि उनी पनि सुटुक्क क्यानडा गएका थिए । अहिले उनी त्यहीं घर खरिद गरेर बसेका छन् । ‘पासपोर्टमा उल्लेख गरेर नेपालबाट लैजान मिल्ने पैसा एकदम कम छ, अन्य माध्यमबाट पनि यहाँ कमाएको ठूलो परिणामको पैसा विदेश लैजाने स्थिति छैन’ डा. घिमिरे भन्छन्, ‘यस्तोमा हुण्डीको माध्यमबाट थाहै नपाई हाम्रो राष्ट्रिय पूँजी बाहिर गइरहेको छ ।’
डा. घिमिरेका भनाइमा, कतिपय व्यवसायीले विदेशबाट सामान मगाउने क्रममा एमआरपीभन्दा निकै कम मूल्यको बिल तयार गरेर सामान भित्र्याउने गर्छन् । र, बाँकी रहेको रकम हुण्डी मार्फत पठाउने गर्छन् ।
जस्तै, एडिडास कम्पनीको दुबईमा १० हजार रुपैयाँ परेको जुत्ता नेपाल ल्याउँदा ४ हजार रुपैयाँको बिल तयार गर्ने गरिन्छ । त्यही रेटले एलसी खोल्ने र औपचारिक माध्यमबाट पैसा पठाइन्छ । तर, दुबईमा खास मूल्य बराबरकै रकम तिर्नुपर्ने हुँदा बाँकी रकम हुण्डी मार्फत पठाइने गरिन्छ । यसले देशको भन्सार राजस्व संकलनमा पनि असर गरिरहेको छ ।
पूर्वप्रहरी अधिकृत दिपेन्द्र अधिकारी चाहिं नेपालको नीति पनि हुण्डी कारोबारलाई निरुत्साहित गर्ने किसिमको नभएको बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, मुलुकमा दैनिक ३० किलो सुन खपत हुने गरेको छ । तर, नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक मार्फत दैनिक १० किलो सुन मात्रै बजार पठाउने गरेको छ ।
यो तथ्यले नेपाली बजारमा दिनमै २० किलो सुन अभाव हुनुपर्ने देखाउँछ । तर, बजारमा सुनको कमी छैन । ‘यसको अर्थ बाँकी सुन हुण्डी मार्फत कारोबार गरेर अवैध रूपमा तस्करी भइरहेको छ भन्ने हो’ उनी भन्छन्, ‘यो सुन मात्रै होइन, अरू वस्तुहरूमा पनि लागू हुन्छ ।’
कतिपय अवस्थामा भन्सारको कर निर्धारण प्रणाली पनि व्यावहारिक नहुनु र यदाकदा राज्य संयन्त्रसँगको मिलेमतोका कारण पनि हुण्डी कारोबार कम हुन नसकेको जानकारहरू बताउँछन् । हुण्डी कारोबारलाई निरुत्साहित गर्न औपचारिक प्रणालीबाट रकम पठाउने प्रक्रियालाई सहज बनाउनुपर्ने पूर्व एआईजी कार्की बताउँछन् ।
‘यदि प्रक्रिया सजिलो भएको भए वैदेशिक रोजगारीमा जानेलाई पैसा पठाउन अरू विकल्प हेर्नुपर्ने थिएन’ उनी थप्छन्, ‘बरु प्रोत्साहित गर्न उनीहरूले पैसा पठाउँदा लाग्ने चार्जमा छुट दिने व्यवस्था सरकारले गर्नुपर्छ ।’