वीरगञ्ज । भारतको बिहार राज्यका मुख्यमन्त्री नितीश कुमारले नयाँ वर्ष २०२५ को पहिलो मन्त्रिपरिषद् बैठकमा महत्त्वपूर्ण निर्णयहरू गर्दै रक्सौल एयरपोर्टको विकासका लागि २०७ करोड ७० लाख रुपैयाँको बजेट स्वीकृत गरेका छन् ।
शुक्रवार सम्पन्न बैठकमा ५५ वटा एजेन्डालाई स्वीकृति दिँदै मुख्यमन्त्री नितिश कुमारले नमामि गंगे योजना, दरभङ्गा एयरपोर्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना, र रक्सौल एयरपोर्टको विकासजस्ता प्रमुख योजनाका लागि विशेष बजेटहरू विनियोजन गरेका छन् ।
मुख्यमन्त्री नितिश कुमारले केही दिन अगाडि बिहारमा गरेको आफ्नो प्रगति यात्रासँग सम्बन्धित २१ मुद्दामा छलफल गर्दै दुई हजार नौ सय ६० करोडभन्दा बढी बजेटका योजनाहरूलाई स्वीकृति प्रदान गरिएको छ । योजनाअन्तर्गत पटना, दीघा घाटस्थित निजी क्षेत्रमा जेवियर विश्वविद्यालयको स्थापना र सञ्चालनका लागि योजना स्वीकृत गरिएको छ ।
त्यस्तै दरभङ्गा एयरपोर्टलाई अन्तर्राष्ट्रिय स्तरको हवाई अड्डा बनाउने उद्देश्यले ८९.७५ एकड जग्गा अधिग्रहणका लागि २४४ करोड ६० लाख ७९ हजार रुपैयाँको बजेट स्वीकृत गरिएको छ ।
यस्तै वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौल एयरपोर्टको विकासका लागि १४९ एकड जग्गा अधिग्रहण गर्न २०७ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट स्वीकृत गरिएको छ ।
विहार सरकारका निर्णयहरूले क्षेत्रीय विकासलाई गति दिनुका साथै यातायात, व्यापार, र शैक्षिक पूर्वाधारलाई पनि मजबुत बनाउने विश्वास गरिएको छ । रक्सौल एयरपोर्टको विकासले सीमावर्ती क्षेत्रको कनेक्टिभिटीमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।