वीरगञ्ज । आम जनता पार्टी (आजपा) द्वारा भोली वीरगञ्जमा आयोजना हुन लागेको भ्रष्टाचारविरुद्धको खबरदारी तयारी जोरसोरले चलिरहेको छ ।
सहरको मुटु घण्टाघर चोकसँगै जोडिएको बिपी उद्यान पार्कमा आयोजना हुन लागेको सभालाई सफल बनाउन आयोजकहरूले राति पनि प्रचारप्रसार गरिरहेको छन् ।
यद्यपि, आजपाको प्रचारप्रसार स्थानीयहरूको लागि पिडादायी बनेको छ । कानुनले रातिको १० बजेपछि लाउडस्पिकरको प्रयोगमा कानुनी प्रतिबन्ध लगाए पनि आजपाले कानुन विपरीत प्रचारप्रसारका लागि चर्को आवाजमा छाडा र अश्लील गीतहरू बजाएर स्थानीयको निन्द्रा हराम पारेको छ ।
आजपाको यस हरकतका कारण विशेष गरी वीरगञ्जको मेन रोडका बासिन्दाहरू आजित र असन्तुष्ट भएका छन् ।
कार्यक्रम स्थलबाट केही मिटरको दूरीमा रहेको प्रहरी एकाइले पनि लाउडस्पिकर बन्द गराउन केही नगरेपछि स्थानीयहरूले असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय आदित्य बरनवालका अनुसार, आयोजकहरूलाई चर्को आवाज बन्द गर्न आग्रह गरे पनि उनीहरूले अटेरी गरिरहेका छन् । प्रहरीलाई जानकारी गराउँदा समेत कुनै कारबाही नभएको उनको गुनासो छ ।
सभाको उद्देश्य भ्रष्टाचारको विरोध गर्नु रहे पनि प्रचार सामग्रीको ठाउँमा अश्लील गीतहरू बजिँदा स्थानीय थप आक्रोशित भएका छन् । उनीहरूले प्रहरी र प्रशासनलाई यस्तो गतिविधि रोक्न माग गरेका छन् ।