चितवन |चितवनमा ध्वनि प्रदूषण गर्न मोटरसाइकल मोडिफाई गरिदिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकलमा ध्वनि प्रदूषण गराउने पार्टपुर्जा हाल्दै गर्दा भरतपुर–९ स्थित ग्यासोलिन इन्फिल्ड मोटरसाइकल ग्यारेजमा काम गर्ने २५ वर्षीय अफसर आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाे मोतिहारी घर भई हाल भरतपुरकाे उक्त ग्यारेजमा काम गर्ने ऋलमलाई मोटरसाइकलमा ध्वनि प्रदूषण गराउने पार्टपुर्जा हाल्दै गरेको अवस्थामा पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका आलममाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
मोटरसाइकलबाट चर्काे आवाज निकाली ध्वनि प्रदूषण गरेको जनगुनासोको आधारमा आलमलाई पक्राउ गरिएको मिश्रले बताए ।
चितवनकाे ट्राफिक प्रहरीले गत पुस २१ गते तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ३० वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरेको थियो ।
ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले बागमती प्रदेशको ऐन अनुसार ७ देखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको छ ।