चीन । चीनमा एमपक्स स्ट्रेन क्लेड १ बी का पाँच जना सङ्क्रमित फेला परेका छन्। चिनिया स्वास्थ्य अधिकारीहरूले बिहीबार यो प्रकोप समूहगत भएको र डीआरसी (कङ्गो) मा बसोबास गरेको व्यक्तिबाट सङ्क्रमण फैलिएको विश्वास गरिएको जानकारी दिएका छन्।
एमपक्सबाट सङ्क्रमित बिरामीसँगको नजिकको सम्पर्कका कारण चार व्यक्तिमा पनि संक्रमण देखिएको छ। ती व्यक्तिहरूमा अपेक्षाकृत हल्का लक्षणजस्तै डाबर र फोकाहरू मात्र देखिएको बताइएको छ। चिनिया रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार सङ्क्रमित र जोखिममा रहेका व्यक्तिहरूलाई चिकित्सा उपचार र निगरानीमा राखिएको छ।
स्वास्थ्य अधिकारीहरूले प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको र हालसम्म अन्य सम्पर्कहरूमा कुनै नयाँ केस नदेखिएको दाबी गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अगस्ट महिनामा एमपक्स भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। त्यसपछि, चीनले छ महिनासम्म आफ्नो देशमा प्रवेश गर्ने यात्रुहरूको एमपक्सका लागि जाँच गर्ने निर्णय गरेको थियो।
डब्लूएचओका अनुसार, सन् २०२२ देखि हालसम्म १२० भन्दा बढी देशमा एमपक्सका केसहरू रिपोर्ट गरिएका छन्। चीनमा हाल देखिएका केसहरूले यो प्रकोप अझै पनि विश्वव्यापी रूपमा चुनौतीपूर्ण रहेको देखाउँछ।