वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने सूर्य दर्शन सहकारीको रकम अपचलन प्रकरणमा धरौटी बुझाएर रिहा भएका छन् ।
कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनले तोकिएको रकम बुझाएर रिहा भएका हुन् । लामिछानेसहित सहकारी प्रकरणमा अन्य छ जना प्रतिवादीहरू पनि अदालतबाट धरौटीमा रिहा भएका छन् ।
मुद्दामा छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङले पनि क्रमशः ८८ लाख, १५ लाख, एक लाख, पाँच लाख र पाँच लाख रुपैयाँ धरौटी बुझाएका थिए । तर, प्रतिवादी लीला पछाईंले ३७ लाख रुपैयाँ धरौटी रकम बुझाउन नसक्दा उनी हिरासतमा नै रहेकी छन् ।
सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित ४४ जनाविरुद्ध पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा चलाइएको छ । कास्की जिल्ला अदालतमा १० दिनसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश नितिज राईको इजलासले लामिछानेसहितका प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
लामिछानेविरुद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकोले उनी शुक्रवार काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने बताइएको छ । सहकारीको बचत रकम अपचलन र ठगी आरोपमा छानबिन भइरहेकाले धरौटीमा रिहा गरिएका सबै प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान जारी रहेको स्रेस्तादार राजन खनालले जानकारी दिएका छन् ।