वीरगञ्ज । पर्साको पोखरियास्थित जगतपुरमा वाइफाइ बन्द गर्न भनिएको विवादले क्रूरताको रूप लिँदा ८० वर्षीय वृद्ध रामजान देवानको ज्यान गएको छ ।
पोखरिया नगरपालिका – ८ जगतपुरमा सोमबार राति वृद्ध रामजानले नाति-नातिनीलाई सुत्नुअघि वाइफाइ बन्द गर्न भनेपछि उनीहरूले विवाद झिकेर रामजानको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार, नाति १८ वर्षीय काबुल देवान र नातिनी २० वर्षीय खुश्वु देवानले वाइफाइ बन्द गर्न नमानेपछि वृद्ध रामजानले रुष्ट हुँदै उनीहरूमाथि गालीगलौज गरेका थिए । त्यस पश्चात् उनीहरूले रामजानमाथि कुटपिट गरे । नाति-नातिनीले वृद्ध रामजानलाई बेहोस हुने गरी कुटपिट गर्दा उनको अवस्था गम्भीर बनेको प्रहरीले जनाएको छ ।
घाइते रामजानलाई तत्कालै उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो । यद्यपि उपचारकै क्रममा मङ्गलवार बिहान उनको मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।
घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले आरोपित नाति काबुल र नातिनी खुश्वुलाई नियन्त्रणमा लिएको डिएसपी लम्सालले बताए । उनका अनुसार, काबुल र खुश्वुलाई हिरासतमा राखी घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।
घटनाले परिवारभित्र बढ्दो तनाव र नयाँ प्रविधिसँग सम्बन्धित विवादले कहाँसम्म गम्भीर परिणाम ल्याउन सक्छ भन्ने देखाएको छ । वाइफाइजस्तो सामान्य विषयले पनि गहिरो पारिवारिक असन्तुलनलाई सतहमा ल्याउने र दुःखद अन्त्य निम्त्याउने परिस्थिति बनिरहेको सुरक्षा अधिकारीहरूले टिप्पणी गरेका छन् ।