वीरगञ्ज । अब नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साले प्रमाणपत्र वितरण र नागरिकताको अभिलेख व्यवस्थापनलाई व्यवस्थित र प्रविधिमा आधारित बनाउन अनलाइन सिफारिस प्रणाली लागू गर्ने घोषणा गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीका अनुसार, स्थानीय तहबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्स्टर्नल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र जारी गर्न अनलाइन सिफारिसको व्यवस्था लागू गर्न थालेको छ ।
सिस्टम लागू गर्नका लागि स्थानीय तहका सूचना प्रविधि अधिकृत र वडा सचिवहरूलाई गृह मन्त्रालयको समन्वयमा भर्चुअल माध्यमबाट अनलाइन नागरिकता सिफारिस तालिम प्रदान गरिएको छ । यसका साथै, सबै स्थानीय तहका युजर आइडी निर्माण गरिसकिएको छ ।
पर्साका ११२ वटै वडा कार्यालयले यही पुस २८ गतेदेखि अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत नयाँ नागरिकताको सिफारिस गर्ने व्यवस्था लागू गर्ने सूचनासमेत सार्वजनिक गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले अनलाइन प्रणाली लागू भएसँगै सेवाग्राहीले कागजपत्र बोकेर कार्यालय धाउनुपर्ने झन्झट समाप्त हुने र सेवा प्रवाह थप प्रभावकारी र पारदर्शी हुने जानकारी दिए ।
गृह मन्त्रालयको पहलमा सुरु गरिएको प्रणालीले नागरिकता प्रमाणपत्रको प्रक्रिया छिटो र सहज बनाउने विश्वास लिइएको छ ।