पर्सा । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा कालिकामाई युवा समाजले दहेज प्रथाविरुद्ध सांस्कृतिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको सहकार्यमा आयोजित यस कार्यक्रममा मधेश प्रदेशका पूर्व ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री सिंगासन साह कलवारले कलश बालेर कार्यक्रमको उद्घाटन गरे। उनले मधेशमा दहेज प्रथाले छोरीचेलीमाथि पर्ने मानसिक र आर्थिक बोझबारे चर्चा गर्दै फाजुल खर्च घटाउनुपर्ने र यसका लागि सचेतना कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रमको अध्यक्षता गर्दै कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसियाले विगत एक वर्षदेखि दहेज बहिष्कार अभियान सञ्चालन गर्दै आएको उल्लेख गरे। उनले दहेजविरुद्ध चेतना फैलाउने र बिना दहेज विवाह गर्ने जोडीलाई सम्मान गर्ने परम्परा समाजले कायम राखेको जानकारी दिए।
विशेष अतिथि गाउँपालिका अध्यक्ष वशिष्ठ कुमारले दहेज प्रथाले सामाजिक विकृति बढाएको र यसको अन्त्यका लागि युवा पुस्ताको सक्रियता महत्त्वपूर्ण भएको बताए। कार्यक्रममा पाँच विद्यालयका विद्यार्थीहरूले “दहेज मुक्त समाज हाम्रो सपना” शीर्षकमा नाटक, गीत र भाषणमार्फत आफ्नो अभिव्यक्ति प्रस्तुत गरे।
नाटक प्रतियोगितामा श्री ने.रा.मा.बि प्रथम, श्री जनता मा.बि दोस्रो, र श्री कालिका कन्या आ.बि तेस्रो भए। भाषण प्रतियोगितामा दिव्य कन्या मा.बि की सुरभि शर्मा प्रथम, जनता मा.बि की सिम्रन प्रविन दोस्रो, र दिव्य कन्या मा.बि की रेहाना खातुन तेस्रो भए। गीत तथा संगीत प्रतियोगितामा दिव्य कन्या मा.बि का छात्राहरूले प्रथम स्थान हासिल गरे।
कार्यक्रममा वडा नं ५ का अध्यक्ष जयनारायण कुर्मी, लोक भोजपुरी गायक अनिल बर्मा, कालिका टाइम्सका प्रबन्धक छठु साह, शिक्षक, अभिभावक, विद्यार्थी, सञ्चारकर्मी, र जनप्रतिनिधिहरूको उपस्थिति थियो। कालिकामाई युवा समाजका पदाधिकारी आकाश महतो, भरत साह तेली, विशाल कुशवाहा, र विकास पटेल लगायतले कार्यक्रमको व्यवस्थापन र सञ्चालनमा योगदान पुर्याएका थिए। समाजले दहेज प्रथा उन्मूलनमा प्रभावकारी पहल गर्दै समाज परिवर्तनमा युवा सक्रियता देखाएको छ।