रौतहट। रौतहट जिल्लाको चुरे क्षेत्रमा अवैध गतिविधिको अनुसन्धान गर्दै डिभिजन वन कार्यालयको गस्ती टोलीले दुई थान भरुवा बन्दुक र खयर काठको डमरुसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहका अनुसार, चन्द्रपुर नगरपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने ख्याकु गाउँमा छापा मार्दा कान्छामान जिम्बा नामका व्यक्ति पक्राउ परेका हुन् । जिम्बाले अवैध रूपमा वनबाट खयर काठ काटेर डमरु बनाउन थालेको सूचनाका आधारमा छापा मारिएको थियो ।
गस्ती टोलीले जिम्बाको गोठबाट दुई थान भरुवा बन्दुक पनि बरामद गरेको छ। डिभिजन वन कार्यालयका वन अधिकृत राजेश कुमार साहले जिम्बा नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
चुरे क्षेत्रलगायतका वन क्षेत्रमा हुने अवैध कटानी र वन्यजन्तु तस्करीलाई नियन्त्रण गर्न वन कार्यालयको गस्ती टोलीले निरन्तर रूपमा अनुगमन र छापामारी कार्य जारी राखेको छ ।