वीरगञ्ज । नारायणी अस्पताल, प्रादेशिक अस्पताल कलैया र पोखरिया जिल्ला अस्पतालमा औषधि अभावले बिरामीहरू समस्यामा परेका छन् । स्वास्थ्य बिमा गराएका बिरामीहरूले नारायणी अस्पतालमा एक महिनादेखि औषधि पाउन सकेका छैनन् भने प्रादेशिक अस्पताल कलैयामा दुई सातादेखि औषधिको अभाव भएको छ । पोखरिया जिल्ला अस्पतालमा पनि साउनदेखि औषधि खरिद नभएको कारण सरकारी औषधिहरू उपलब्ध हुन सकेका छैनन् ।
नारायणी अस्पतालमा समस्या
नारायणी अस्पतालमा औषधिको ठेक्का लाग्न नसक्दा औषधिको अभाव भएको हो । चालू आर्थिक वर्षमा ठेक्का प्रक्रिया पूरा नभएकाले अस्पतालमा सयभन्दा बढी थरीका औषधिहरू उपलब्ध हुन सकेका छैनन् । चार महिनामा तीन जना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन हुँदा अस्पतालका सेवाहरूमा प्रतिकूल असर परेको छ ।
नयाँ मेसु डा. चुमनलाल दासले असोज १८ गतेदेखि जिम्मेवारी सम्हालेका छन् । यसअघि कार्यवाहक मेसु डा. ऐनामुल हक थिए, उनको समयमा अस्पतालका सेवाहरूमा धेरै हदसम्म सुधार भएपनि अहिले नयाँ नेतृत्वको आग्मनासँगै समस्या पुन: देखिन थालेका छन् ।
यद्यपि अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले डा. हकको कार्यकालमा अस्पतालको स्थिति बिग्रिएको भए पनि हाल सुधार हुँदै गएको बताए। फार्मेसी र ५६ शय्याहरू बन्द भए पनि अहिले ५४ शय्या सञ्चालनमा आएको छ र औषधिको व्यवस्थापनका लागि सप्लायर्सलाई निर्देशन दिइएको छ।
कलैया प्रादेशिक अस्पतालको अवस्था
प्रादेशिक अस्पताल कलैयामा पनि औषधिको अभाव गहिरिँदो छ। मेसु डा. सुनील कुशवाहा र लेखापाल रामबालक यादवबिचको मनमुटाबले औषधिको ठेक्का प्रक्रिया प्रभावित भएको छ । नतिजा स्वरूप, स्वास्थ्य बिमा र फार्मेसीबाट उपलब्ध गराइने औषधिहरू ९० प्रतिशतसम्म अभावमा छन्, र सेवाग्राहीहरूले १० प्रतिशत मात्र औषधि प्राप्त गरिरहेका छन् ।
अस्पतालमा काम गर्ने ७० जना कर्मचारीहरूले दसैँमा तलब नपाएको गुनासो छ भने उनीहरू तिहार र छठको मुखमा पनि तलब नपाएर आन्दोलनको तयारीमा छन् । अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईंले कमिसन विवादका कारण तलब रोकिएको आरोप लगाएका छन् ।
पोखरिया जिल्ला अस्पतालमा पनि समस्या उस्तै
पोखरिया जिल्ला अस्पतालमा औषधि अभावको स्थिति निरन्तर छ। स्वास्थ्य बिमाका बिरामीहरूले आवश्यक औषधि पाउन सकेका छैनन् । निमित्त मेसु डा. अनिल यादवका अनुसार औषधिको ठेक्का नलागेका कारण समस्या उत्पन्न भएको हो । नगरपालिकाले औषधि खरिदका लागि विनियोजन गरेको रकमले औषधि नपठाएको कारण बिरामीहरू थप समस्यामा परेका छन् ।